— नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले महिलालाई सधैँ अपमान गर्ने गरेको आरोप लगाएकी छन्। एमालेको ११औँ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो टिप्पणी गरिन्।
शाक्यले एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेको दाबी गर्दै गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेका व्यक्तिले पूर्वराष्ट्रपतिप्रति पटक–पटक अपमानजनक शब्द प्रयोग गर्नु अस्वीकार्य हुने बताइन्। कुनै पनि नेतृत्वले महिलाको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउनेजस्तो व्यवहार देखिएको भन्दै उनले व्यङ्ग्यसमेत गरिन्।
ओलीमा महिलाप्रति सकारात्मक सोच र दृष्टिकोण नै नभएको आरोप लगाउँदै उनले महिलाको अपमान गर्ने प्रवृत्तिको विरोधमा सशक्त आवाज उठाउनुपर्ने आवश्यकता औँल्याइन्।महिलालाई अपमान र अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यकता नभएको भन्दै शाक्यले अध्यक्ष ओलीले सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारीको भूमिकालाई व्यङ्ग्य गर्दै ‘धामीले जस्तै घुुमरौं लाएर झल्र्याङ–झल्र्याङ गर्दै, मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै— 'म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, म अध्यक्ष हुन्छु” भनेर आउन मिल्छ ?’ भन्ने शैलीमा टिप्पणी गरेको बताइन् ।कान्तिपुरसँगको कुराकानीमा केही दिनअघि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारी लक्षित अभिव्यक्ति दिएको सन्दर्भ उनले उठाइन्।
शाक्यले भनिन्, ‘एउटा पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक— उहाँलाई धामीझाँक्री भन्न मिल्छ ? सामान्य महिलालाई पनि त्यस्तो अपमान गर्न मिल्दैन, पूर्वराष्ट्रपतिलाई त झन् हुँदैन। तर यो नेतृत्वलाई भने सुहाउँछ। किनभने उहाँमा सोच छैन, महिलाप्रति हेर्ने दृष्टिकोण छैन।’ महिला हिंसा विरुद्धको १६ दिने अभियान भइरहेको बेला यस्तो टिप्पणी गर्नु सबै महिलाको अपमान भएको उनले बताइन् र यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्ने धारणा राखिन्।
उनले अध्यक्ष ओली कहिल्यै नसच्चिने दाबी गर्दै ओलीकै नेतृत्वमा अघि बढे एमाले र देश दुवै कमजोर हुने चेतावनी दिइन्।