— खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले हरिगाउँका लागि खानेपानी तथा सरसफाइ आयोजनासम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा कार्यालय प्रमुख थापासहित तत्कालीन इन्जिनियर वसन्तकुमार दुलाल, अधिकृत माधवप्रसाद तिमिल्सेना, तत्कालीन सबइन्जिनियर नुतन आचार्य, लेखापाल मनोज विष्ट र जयकाली ड्रिलिङ्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि र यसका सञ्चालक शेखर शर्माविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएको हो ।
प्रतिवादीविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो कायम गरिएको छ । प्रतिवादीबाट हिनामिना भएको रकम असुलउपर गर्न पनि मागदाबी लिइएको छ । यसमध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका ५ जना कर्मचारीविरुद्ध एकमुष्ट बिगो कायम गरी सजाय मागदाबी लिइएको छ । ठेकेदार शर्मालाई मुख्य कसुरदारसरह मतियारका रूपमा त्यति नै बिगो कायम गरी सजाय मागगदाबी लिइएको अख्तियारले जनाएको छ ।
२०८०/८१ का लागि आह्वान गरेको खानेपानी तथा सरसफाइ आयोजनाका लागि बढी कबोल गर्ने जयकालीलाई ठेक्का दिइएको अनुसन्धानबाट खुलेको छ ।
दियालो ड्रिलिङ प्रालिले उक्त आयोजना सम्पन्न गर्न १८ लाख ३ हजार २ सय ३० रुपैयाँमा कबोल गरे पनि जयकालीलाई ३० लाख ६३ हजार २ सय ३७ रुपैयाँमा ठेक्का दिइएको भेटिएपछि अख्तियारले कम कबोल गर्ने र बढी कबोलबीचको फरक हुन आउने रकमलाई नै बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
आयोजनासम्बन्धी बोलपत्र बनाउँदै जयकालीसँग कर्मचारीले मिलेमतो गरी ठेक्का लगाइएको र त्यसकै आडमा बढी कबोल गर्नेलाई ठेक्का सुम्पिइएको भेटिएको अख्तियारले जनाएको छ ।