— कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेस नेता आरजु राणा देउवासहित चार जनाको नाम क्षेत्रीय कमिटीले जिल्लामा सिफारिस गरेको छ । देउवासँगै नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वडको नाम पनि सिफारिस भएको उक्त निर्वाचन क्षेत्रका प्रवक्ता प्रदीप पाठकले बताए ।
हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भनिए पनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै चार जनाको नाम सिफारिस गरिएको पाठकले बताए ।
शाह नेपाली कांग्रेस कैलालीका पूर्व सभापति हुन्, पन्त निर्वतमान प्रतिनिधिसभा सदस्य हुन् भने वड धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
आरजु ०७४ को निर्वाचनमा धनगढी क्षेत्रबाटै प्रतिस्पर्धा गरेकी देउवा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । गत ०७९ को निर्वाचनमा पनि उनले नै प्रतिस्पर्धा गर्ने चर्चा थियो, तर अन्तिम समयमा उनले समानुपातिकबाटै चुनाव लडेकी थिइन् ।
प्रवक्ता पाठकका अनुसार निर्वाच क्षेत्र कमिटीले मंगलबारभित्र उम्मेदवारहरुको नामावली जिल्ला कार्य समितिमा पठाइसक्नुपर्ने समय तालिका निर्धारण गरिएको बताए । जिल्लाले प्रदेश कार्य समितिलाई पठाउने छ र प्रदेशले केन्द्रमा सिफारिस गर्ने प्रक्रिया रहेको पाठकले बताए ।
समानुपातिकतर्फको निर्वाचनका लागि धनगढी क्षेत्रबाट ११ जनाको नाम सिफारिस गरिएको छ । जीवन राना, गौरिकुमारी लामा, मनिराम देवल, सुशीला मिश्र, सुनिता राना, पुष्पा जोशी भट्ट, निपा चोखाल, जागृति बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बमको नाम सिफारिस गरिएको पाठकले बताए । यस्तै, राष्ट्रिय सभाका लागि रीता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको छ ।