— गत कात्तिक २३ गते कैलालीमा एकै दिन लागूऔषधसहित आठ जना पक्राउ परे । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका विभिन्न प्रहरी कार्यालयले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेका थिए ।
१८ वर्षीय किशोरदेखि ३१ वर्षीय वयस्कसम्मलाई विभिन्न स्थानबाट पक्राउ गर्दा उनीहरूका साथबाट १ ग्राम ३ सय ७० मलिग्राम खैरो हेरोइन बरामद भएको थियो । एकै दिन धेरै जना युवा पक्राउ परेपछि स्थानीयदेखि राष्ट्रिय मिडियासम्मै यो खबरले स्थान पायो र प्रहरीले झन् सतर्कता अपनायो ।
यो घटनाको ६ दिन मात्रै बितेको थियो, फेरि खबर आयो– ‘कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ’ । जिल्ला प्रहरीका विभिन्न टोलीले छुट्टाछुट्टै स्थानबाट चेकजाँच र विशेष सूचनाका आधारमा खैरो हेरोइन बरामद गरेर उनीहरूलाई नियन्त्रणमा लिएका थिए । उनीहरूको साथबाट ५ ग्राम ४ सय २० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
एक साताको अन्तरालमा पक्राउ परेको यो दरले कैलालीमा लागूऔषध कति भयावह रूपमा फैलिरहेको छ भन्ने स्पष्ट देखाउँछ । कैलाली मात्रै होइन, भारतसँग खुला सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुरको अवस्था पनि उस्तै छ ।
सञ्चार माध्यममा आउने ‘लागूऔषधसहित पक्राउ’ समाचार देख्दा यस्तो लाग्छ– मानौं कैलाली र कञ्चनपुरले यसमा प्रतिस्पर्धा गरिरहेका छन् । लागूऔषध बरामद र पक्राउ दरमा कहिले कैलालीले कञ्चनपुरलाई उछिन्छ त कहिले कञ्चनपुर कैलालीभन्दा अघि देखिन्छ ।
यहाँ मात्रै होइन, सुदूर पहाडका जिल्लाहरूमा पनि लागूऔषध प्रयोगकर्ताको दर बर्सेनि बढिरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकले लागूऔषधबाट बझाङ, बाजुरा र दार्चुलालाई समेत अछुत नराखेको देखाउँछ ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ३ सय ६४ पुरुष, १८ महिला र १२ भारतीय गरी ३ सय ९२ जना पक्राउ परेका थिए । यस वर्ष प्रदेशभरि २ सय ५४ मुद्दा दर्ता भएका थिए । जसमध्ये कैलालीमा १ सय ३७ जना, कञ्चनपुरमा २ सय ३१, बझाङमा ३, बाजुरामा ४, डोटीमा ३, दार्चुलामा ७, बैतडीमा ५ र अछाममा २ जना पक्राउ परेका थिए ।
यस वर्ष प्रदेशभर ५ किलो ३ सय ९१ ग्राम गाँजा, ५६ किलो ५ सय ४८ ग्राम ७ सय ६८ मिलिग्राम चरेस र १ किलो २ सय ३१ ग्राम ९ सय ५८ मिलिग्राम हिरोइन बरामद गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिमका नौवटै जिल्लामा ५ सय २४ पुरुष, २१ र १८ भारतीय पुरुष ५ सय ६३ जना पक्राउ परेका थिए । यो तथ्यांकले अघिल्ले वर्षको तुलनामा यस वर्ष १ सय ६४ जना बढेको देखिन्छ ।
पक्राउमध्ये कैलालीमा ३ सय १४, कञ्चनपुरमा २ सय ३४, डडेल्धुरामा ३, बझाङमा ३, बाजुरामा ५, डोटी र दार्चुलामा २/२ पक्राउ परेका थिए । प्रदेशभर ३ सय ५६ मुद्दा दर्ता भएका थिए । यस वर्ष प्रदेशभर १ किलो १ सय ५५ ग्राम गाँजा, १ सय १२ किलो ८ सय ४० ग्राम चरेस र १ किलो ५६ ग्राम हिरोइन बरामद भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिमका नौवटै जिल्लामा ७ सय ७३ पुरुष, ६६ महिला र १७ भारतीय पुरुष गरी ८ सय ५६ जना पक्राउ परेका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३ सय जना बढेका छन् ।
यस वर्ष कैलालीमा ५ सय १८, कञ्चनपुरमा २ सय ९२, डडेल्धुरामा ९, बझाङमा ३, बाजुरामा १, डोटीमा ७, दार्चुलामा ५, बैतडीमा १४ र अछाममा ७ जना पक्राउ परेका छन् । प्रदेशभर ५ सय ३८ मुद्दा दर्ता भएका थिए ।यस वर्ष प्रदेशभर ठूलो मात्रामा लागूऔषध बरामद भयो । तथ्यांक अनुसार ५० किलो ५ सय ग्राम गाँजा, १ सय ९ किलो ७ सय १४ ग्राम चरेस र ४ सय ३२ किलो ४ सय ६२ मिलिग्राम हिरोइन बरामद गरिएको थियो ।
वर्ष ०८१/०८२ मा ९ सय ७७ पुरुष, ५६ महिला र १० भारतीय गरी १ हजार ४३ जना पक्राउ परेका छन् । यस वर्ष भने अघिल्लो वर्षको तुलनामा घट्दो देखिएको छ । कैलालीमा ७ सय, कञ्चनपुरमा २ सय ७५, डडेल्धुरामा १५, बझाङमा ४, बाजुरामा ५, डोटीमा ५, दार्चुलामा १९, बैतडीमा ९ र अछाममा ११ जना पक्राउ परेका छन् । यस वर्ष प्रदेशभर ६ सय ९३ मुद्दा दर्ता भएका छन् ।
प्रदेशभर ३ किलो ६ सय १८ ग्राम गाँजा, ७२ किलो ६ सय ८१ ग्राम चरेस र ४ सय ९४ ग्राम ७ सय ८६ मिलिग्राम हिरोइन बरामद गरिएको थियो । यस्तै चालु आर्थिक वर्षको कात्तिक १७ गतेसम्मको तथ्यांक अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा १ सय ५६ पुरुष र ३ महिला गरी १ सय ५९ जना पक्राउ परेका छन् । जसमध्ये कैलालीमा ८५, कञ्चनपुरमा ५२, डडेल्धुरामा ४, बझाङमा ९, बाजुरामा ३, डोटी र दार्चुलामा ३/३ जना पक्राउ परेको विवरण छ भने १ सय ९ मुद्दा दर्ता भएका छन् । यो ४ महिनामा प्रदेशभर ९ किलो चरेस र २ सय ३२ ग्राम हिरोइन बरामद गरिएको छ
चालु आवको साउन १ गते देखि कार्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालय कैलालीमा मात्रै लागू औषधका ८९ मुद्दा दर्ता भएका छन् । ५ महिला र १ सय २५ पुरुष गरी १ सय ३० जना पक्राउ परेका छन् । यो अवधिमा १ सय ९३ ग्राम २० मिलिग्राम खैरो हेरोइन, ७ किलो ३ सय ६६ ग्राम चरेस र ७७ ट्याब्लेट ट्रामाडोल बरामद भएको छ ।
यो तथ्यांकले सुदूरपश्चिममा प्रत्येक वर्ष लागूऔषध बरामद दर र पक्राउ पर्ने संख्या उच्च दरमा बढिरहेको देखिन्छ । यसबारे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र लागूऔषध ओसारपसारमा संलग्न केही गिरोहलाई पहिचान गरेर नाकाहरूमा विशेष चेकजाँच बढाएपछि पक्राउ र लागूऔषध बरामद दर बढेको बताउँछन् ।
अधिकांश प्रयोगकर्ता ४० वर्षमुनिकै
भारतबाट नेपालमा लागूऔषध असोरपसारमा संलग्न र प्रयोगकर्ताको उमेर समूह प्रायः ४० वर्षमुनिकै रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी सागर बोहरा कञ्चनपुरमा पक्राउ पर्नेमध्ये अधिकांश युवा रहेको बताउँछन् । ‘सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समूहका लागूऔषधमा बढी सक्रिय देखिन्छन् । यसबाहेक १४ वर्षभन्दा माथि र ४० वर्षसम्मका नै बढी पक्राउ पर्छन् । ६० वर्षसम्मका पनि ओसारपसार संलग्न रहेका हाम्रो रेकर्डमा छ,’ उनले भने ।
कैलालीमा पनि यही उमेर समूह लागू औषधमा बढी संलग्न देखिन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहले अहिले महिला र किशोरी पनि लागू औषधमा संलग्न हुन थालेको बताए ।
‘महिला र किशोरीहरू लतमा परेपछि आफ्नो लागि लागूऔषध खोज्ने गर्छन् । यसै क्रममा कमाइ पनि हुने भएपछि अरूका लागि पनि लागूऔषध ओसारपसार गर्ने गरेको देखिन्छ,’ सिंहले भने । महिलामा पनि पक्राउ पर्नेको उमेर समूह प्रायः युवा नै देखिन्छ ।
सुदूरपश्चिममा लागूऔषधको समस्या भयावह बन्नु र यसमा युवा बढी संलग्न हुनुमा विभिन्न कारण छन् । खुला सिमाना, आर्थिक अभाव, अशिक्षा र बेरोजगारी यसका मुख्य कारण रहेको सिंहको भनाइ छ ।
उनकै कुरामा सहमत छन् प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी मिश्र पनि । ‘किशोर किशोरीहरू गलत संगतमा पर्ने र लागू औषधको लतमा पर्ने सम्भावना उच्च देखिन्छ । हामीले पक्राउ गरेकामध्येको अधिकांश रेकर्ड यही छ,’ मिश्रले भने ।
उनका अनुसार एउटा अर्को उमेर समूह छ, जो लागूऔषधसेवनसँगै ओसारपसारमा संलग्न छ । यो समूहमा पर्नेहरू प्रायः वयस्क छन् । उनीहरू आफ्नो सीप, योग्यता र क्षमताअनुसारको रोजगारी नपाएपछि छिटो पैसा कमाउने लोभले लागूऔषध ओसारपसारमा संलग्न हुने र पछि आफैं सेवनकर्ता बन्ने रहेछन् ।
समाजमा व्याप्त गरिबी, अशिक्षा र बेरोजगारी नघटाएसम्म लागूऔषध नियन्त्रण नहुने मिश्रको भनाइ छ ।
प्रहरीका लागि चुनौतीपूर्ण छ लागूऔषध नियन्त्रण
पछिल्लो ट्रेन्ड हेर्ने हो भने लागूऔषध कैलालीको टीकापुर, भजनी, चौमाला, लम्कीचुहा, माला खेती, त्रिनगर नाका र कञ्चनपुरको खक्रौला, बेलौरी र गड्डाचौकी नाकाहरूबाट बढी भित्रिरहेको देखिन्छ । यीमध्ये मुख्य ट्रान्जिट प्वाइन्टहरूमा प्रदेश प्रहरीले विशेष अपरेसन सुरु गरेको छ ।
अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा ब्राउन सुगर (खैरो हेरोइन) बढी मात्रामा प्रयोग हुने गरेको प्रदेश प्रहरीका सूचना अधिकारी मिश्र बताउँछन् । उनका अनुसार खैरो हिरोइनको मुख्य स्रोत भारत नै हो ।
‘खुला सिमाना छ । त्यो सिमाना बराबरको जनशक्ति हामीसँग छैन । लागूऔषध पहिचान गर्ने उपकरण पनि कम छन्,’ सूचना अधिकारी मिश्रले भने, ‘लागूऔषध ट्रयाक गर्ने ट्रयाकर डगहरू पर्याप्त मात्रामा छैनन् । स्रोत र साधनको अभाव छ । खुला सिमानाका कारण भारतबाट नेपाल भित्रिने लागूऔषध नियन्त्रण गर्न प्रहरीका लागि चुनौतीपूर्ण छ ।’
त्यसैमाथि ओसारपसारमा संलग्न गिरोहले लागूऔषध नेपाल भित्र्याउन नयाँ–नयाँ तरिका अपनाउने गर्छन् । यसले गर्दा पनि कैलाली र कञ्चनपुरमा बढी लागूऔषध भित्रिरहेको प्रदेश प्रहरीका सूचना अधिकारी मिश्रको दाबी छ । ‘समाजमा एउटा गलत भाष्य छ– लागूऔषध सेवन र कारोबार प्रहरीले मात्रै रोक्नुपर्छ भन्ने छ । प्रहरीको प्रयासले मात्रै लागूऔषध नियन्त्रण हुन सक्दैन,’ उनले भने, ‘प्रहरीले त सहायक भूमिका मात्रै निर्वाह गर्ने हो । लागूऔषधलाई पूर्ण रूपमा नियन्त्रण गर्न परिवार, समाज, विद्यालय र तिनै तहका सरकार सक्रिय रूपमा लाग्नु जरुरी छ ।’