: कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन्। सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई संरचना भत्काएपछि उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन्।
हेटौंडामा सडक डिभिजन कार्यालयले सडक क्षेत्रभित्र परेका संरचनामा आज बिहानैदेखि डोजर चलाउन सुरु गरेको छ। श्रेष्ठले त्यसको विरोध गर्दै आफू पीडितको साथमा रहेको बताएकी छन्।
सरकारले डोजर लगाएर भत्काएपछि स्थानीयहरु हेटौंडा उपमहानगरपालिका र भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङको विरोध गरिरहेका छन्।
श्रेष्ठले उज्यालो पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्दै हेटौंडा पीडितको साथमा रहने समेत बताएकी छन्। रातको समयमा बिजुली काटेको भन्दै उनले जेनजीको रगतमा बनेको सरकार आतंककारी मानव अधिकार विरोधि काम गरेको आरोप लगाइन्।
‘आतंकारी सरकार मुर्दावाद , डोजर चलाउने कुनै पनि पार्टीका नेताहरू भोट दिनु भनेकै जनताको घर लुट्नु हो।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको धोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन। म हेटौंडा पीडितको साथ छु।’
उनले आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको बताइन्। उनले भनेकी छिन् ‘नैतिकता छ म मा। त्यसैले रानीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु। बस्।’
शुक्रबार सर्वोच्च अदालतले हेटौंडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर बिहानैदेखि ती संरचना भत्काउन थालिएको हो।