: १० वर्षे सशस्त्र युद्धकालदेखि नै माओवादीमा सक्रिय पर्साका ७ नेताले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । नेकपा माओवादी केन्द्रको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पर्साका ७ जना नेताहरूले प्रचण्डको साथ छाड्दै जनार्दन शर्मा नेतृत्वको प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका छन् ।
माओेवादी परित्याग गरी प्रलोपामा प्रवेश गर्नेहरूमा नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, माओवादी केन्द्र पर्सा–२ का क्षेत्रीय इन्चार्ज अमिताभ बच्चन दास, माओवादी केन्द्रका युवा नेता सन्तोषराज घिमिरे, पूर्वक्षेत्रीय संयोजक सुनील रौनियार, कालिकामाई गाउँपालिकाका पूर्वनेता दिनेशप्रसाद यादव, युवा नेता फणीन्द्रप्रसाद गुप्ता र अखिल क्रान्तिकारीको केन्द्रीय लेखा आयोगका उपाध्यक्ष गायत्री सिंह रहेका छन् ।
शुक्रबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलन गरेर सातै जना नेताले पुष्पकमल दाहाल प्रचण्डप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरूले कम्युनिस्ट सिद्धान्तको रक्षा गर्न प्रचण्ड असफल भएको आरोप पनि लगाए ।
उनीहरूले जनवादी केन्द्रीयताको नाममा पुरानै पुस्तालाई निरन्तर अघि सार्दै प्रचण्ड र माधव नेपालले नेपाली कम्युनिस्ट पार्टीलाई ‘वृद्ध क्लब’ बनाएको तथा विभिन्न पार्टीहरूसँग अनावश्यक एकता गरेर संगठन कमजोर बनाइरहेका कारणले प्रचण्ड नेतृत्वप्रति विश्वास गुमाउँदै आफूहरूले पार्टी एकता गरेर बनेको नेपाली कम्युनिस्ट पार्टी अस्वीकार गरेको बताए ।
उनीहरूले आजकै मितिदेखि जनयुद्धका कमाण्डर जनार्दन शर्मा र पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लाग्ने घोषणा पनि गरे । साथै निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, सामाजिक न्याय, संघीयता र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै वर्गीय मुक्तिसँग जोडिएको नेपाली समाजवाद निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरे ।