: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा सघन छलफल भएको छ। देउवा निवासमा शुक्रबार उनीहरूबीच समसामयिक राजनीतिक विषय र निर्वाचनका बारेमा छलफल भएको हो।
स्रोतका अनुसार अध्यक्ष ओलीले निर्वाचनका लागि सरकारको तयारी नपुगेको बताएका थिए। उनले सुरक्षाको अनुभूति पनि सरकारले गराउन नसकेको र अहिलेको तयारीले फागुन २१ मा निर्वाचन सम्भव पनि नभएको देउवालाई बताएको स्रोतको दाबी छ।
सभापति देउवाले भने निर्वाचनप्रति लचिलो जवाफ फर्काएका थिए। सरकारले गराउँछु भनेर लागिपरेकाले सबैखाले व्यवस्थापन गर्नुपर्ने देउवाको भनाइ रहेको स्रोतको दाबी छ। 'ओलीजीले अहिलेकै अवस्थामा चुनाव नहुने बताएपछि सभापतिज्युले 'खै सरकारले गराउँछु भन्छ, आवश्यक कुराको व्यवस्थापन पनि सरकारले गर्लान् नि' भन्नुभएको थियो,' अन्नपूर्णसँग स्रोतले भन्यो। यद्यपि, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबारे दुई नेता ढुक्क भने थिएनन्।
त्यस्तै भेटमा अध्यक्ष ओलीले स्वास्थ्य अवस्थामा बारे पनि बुझेका थिए। देउवाले अहिले सबै ठीक हुँदै गएको बताएका थिए। उनीहरूबीच कांग्रेस र एमालेको आसन्न महाधिवेशनका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।
'कांग्रेसको बैठक सकिएछ हैन?,' हाँस्दै ओलीले प्रश्न गरेका थिए। कांग्रेस बैठकलाई निष्कर्षमा पुर्याएकोमा ओलीले देउवालाई बधाई पनि दिएका थिए। कांग्रेसको नेतृत्वबाट अलग हुन लागेको विषयमा पनि ओलीले जिज्ञासा राखेको स्रोतको दाबी छ। 'कांग्रेस छोड्नै लाग्नुभएको हो?,' ओलीको प्रश्नमा देउवा हाँसेका थिए।
सभापति देउवाले पनि एमालेको आसन्न महाधिवेशनप्रति ओलीलाई बधाई दिएका थिए। उनले एमालेमा सबैलाई मिलाएर लैजान पनि अध्यक्ष ओलीलाई सुझाव दिएका थिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक देउवा र ओलीले औपचारिक भेटघाट गरेका थिए। भेटमा देउवा पत्नी आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए।