: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा उनले विभिन्न शक्तिहरूले मुलुक र पार्टीको नेतृत्वलाई सिद्धाउने षडयन्त्र गरिरहेको भन्दै यस अवस्थामा नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका हुन्।
महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने उल्लेख गर्दै उनले विद्यमान पार्टीको विधानलाई संशोधन गरेर भएपनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखे।
त्यसैगरी उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई समेत एकताबद्ध गर्नुपर्ने अवस्थामा फेरिपनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व गर्नुपर्नेमा जोड दिए।
प्रतिस्पर्धाको नाममा हुने गतिविधिले पार्टीलाई नै कमजोर बनाउने उनले बताए। त्यस्तै उनले मुलुकलाई संवैधानिक बाटोमा फर्काउनु अपरिहार्य भएकाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने उल्लेख गरे।