मुख्य समाचार
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा
नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा

: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्।

सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ अन्तर्गतको पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। त्यस्तै दोस्रो स्थानमा काठमान्डु गोर्खाज रहेको छ। गोर्खाजले बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो। सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गर्दा विराटनगर किंग्स पनि आठ अंकसहित प्लेअफमा छनोट भएको छ। अब प्लेअफका लागि एक स्थान बाँकी छ। कर्णाली याक्स बाहेकका अन्य ४ टिमले दावेदारी पेश गरिरहेका छन्। लिग चरणका अन्तिम खेलहरू यही साता सकिन्छन्। मंगलबारबाट प्लेअफको समीकरण सुरु हुन्छ।


कस्ता छन् प्लेअफ पुगेका तीन टोली

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफ पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ। जसमा अपराजित रहँदै ६ खेलमा ६ जित सहित सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर्समा आफ्नो स्थान पक्का गरिसकेको छ। दोस्रो स्थानमा काठमान्डु गोर्खाज १० अंकसहित प्लेअफमा पुगेको छ। काठमान्डुले ७ खेलमा ५ जित र २ हारको नतिजा निकाल्यो। विराटनगर किङ्स ६ खेलमा चार जित र दुई हारसहित तेस्रो स्थानमा रहँदै प्लेअफ पुगिसकेको छ।

अपराजित सुदूरपश्चिमको बलियो लय

प्रतिस्पर्धात्मक हिसाबले हालसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्सको खेल निकै आकर्षक छ। हालसम्म अपराजित रहेको हिसाबले पनि सुदूरपश्चिमको ब्याटिङ, बलिङ र फिल्डिङमा कुनै पनि समस्या देखिएको छैन । ६ खेलमा हालसम्म कुनै पनि टिमले सुदूरपश्चिमलाई हराउन सकेका छैनन्। अब सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्न बाँकी छ। यी दुवै टोली प्लेअफ पुगिसकेका छन्। सो कारणले लिग चरणको अन्तिम खेल दुबै टोलीको लागि प्रतिस्पर्धाको लडाइ हुनेछ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हरायो। दोस्रो खेलमा पोखरा एभेन्जर्स विरुद्ध १८ रनको जित निकाल्यो। तेस्रो खेलमा छिमेकी प्रदेशको प्रतिनिधित्व टिम कर्णाली याक्सलाई ४५ रनले हरायो । चौथो खेलमा लुम्बिनी लायन्स विरुद्ध सात विकेटको जित, पाँचौं खेलमा जनकपुर बोल्ड्सलाई ६ विकेटले पराजित गर्यो। छैटौं खेलमा बिहिबार सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले हरायो।

जितको सिलसिला हेर्दा सुदूरपश्चिम रोयल्सको ब्याटिङ, बलिङ र फिल्डिङमा विदेशी खेलाडीसँगै नेपालका घरेलु खेलाडीले पनि उत्तिकै राम्रो प्रदर्शन दिइरहेका छन्। बिहीबारको खेलमा चितवन राइनोज विरुद्ध ट्यालेन्ट हन्टबाट आएका हिक्मत महराले विकेट लिए। ट्यालेन्ट हन्टबाट आएको खेलाडीबाट पनि नतिजा निस्किरहँदा प्रशिक्षक जगत टमाटा निकै खुसी छन्। ‘हामीले टिमवर्कको हिसाबले खेलिरहेका छौं हरेक खेलमा फरक फरक खेलाडी प्लेयर अफ द म्याच भइरहेका छन्। हाम्रो टिमका ब्याटर र बलरहरूले आफ्नो भूमिकालाई राम्ररी बुझेर खेलिरहेका छन्।’ टिमको राम्रो प्रदर्शनबाट ६ खेलमा ६ जित सहित पहिलो क्वालिफायर खेल्ने भएपछि प्रशिक्षक जगत टमटा निकै खुसी देखिन्छन्। सुदूरपश्चिम रोयल्सका लागि घरेलु खेलाडीबाट पनि उत्तिकै राम्रो प्रदर्शन आइरहँदा जगत टमटा भन्छन्,‘ हाम्रो टिममा विदेशी खेलाडी र स्वदेशी खेलाडीको तालमेल निकै राम्रो छ। खेलाडीहरूले एकअर्कालाई विश्वास गरेका छन्।’ हेटौँ जितपछि पत्रकार सम्मेलनमा सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक टमटाले भने।

मोन्टीको बलियो रणनीतिसहित पहिलो पटक प्लेअफमा काठमान्डु

पाँच जितसहित १० अंक बटुलेर प्लेअफमा छनोट भएको अर्को टोली हो काठमान्डु गोर्खाज। पहिलो संस्करणमा रन रेटका आधारमा रहेर प्लेअफबाट बाहिरिएको काठमान्डु गोर्खाजले नयाँ प्रशिक्षक मोन्टी देसाईको आगमनसँगै उनको बलियो रणनीतिको प्रभावले प्लेअफमा स्थान बनाएको छ। पोखरा एभेन्जर्समाथि १३ रनको जित दर्ता गर्दै काठमान्डु गोर्खाजले प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो। प्लेअफमा छनोट भएपछि पोखराविरुद्धको खेलमा प्लेयर अफ दि म्याच भएका भीम सार्की भन्छन्, ‘टिमको रणनीति अनुसार मैदानमा प्रदर्शन पनि भइरहेको छ। सोही कारणले हामी प्लेअफमा छनोट भएका छौं एकदमै खुसी छौं’, खेलपछि पत्रकारसँगको प्रश्नोत्तरमा भीम सार्कीले भने। काठमाडौँ गोर्खाजले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुरुवात गरेको थियो।

दोस्रो र तेस्रो खेलमा काठमाडौंले हार बेहोर्यो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको काठमाडौं तेस्रो खेलमा विराटनगर किंग्ससँग पाँच विकेटले पराजित भयो। त्यसपछि भने काठमान्डु गोर्खाजले आफ्नो लय समात्यो। त्यसपछि लगातार चार खेलमा जित दर्ता गर्दै काठमान्डुले प्लेअफमा स्थान बनाएको हो। चौथो खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हरायो। पाँचौं खेलमा चितवन राइनोजलाई ५३ रन छैटौं खेलमा कर्णाली याक्सविरुद्ध पाँच विकेट र सातौं खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हरायो। पहिलो संस्करणमा अन्तिम अवस्थामा प्लेअफबाट बाहिरिएका काठमान्डु दोस्रो संस्करणमा भने बलियो रणनीति र सोही अनुरुपको मैदानमा खेल प्रदर्शन गर्दै प्लेअफमा स्थान बनाएको हो।

चितवनको हारले एक खेल लगावै प्लेअफ पुगेको विराटनगर

बिहिबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज बीचको खेलको नतिजा सुदूरपश्चिम रोयल्सको पोल्टामा पर्दा सबैभन्दा खुसी भएको टिम हो, विराटनगर किंग्स। एक खेल अगावै प्लेअफमा स्थान बनाउँदै विराटनगरले अन्तिम खेलमा प्रेसर बिना खेल्न पाउनेछ। चितवन राइनोजले पाँच खेलमा चार अंक जोडेको थियो। जसको अनुसार चितवनले सुदूरपश्चिमलाई जितेको खण्डमा छ अंक र अन्तिम खेलमा जित निकाल्दा आठ अंक हुन्थ्यो।

जसले गर्दा विराटनगर किंग्स प्लेअफ पुग्नको लागि एक खेल कुर्नुपर्ने हुन्थ्यो। तर सुदूरपश्चिम रोयलसँग चितवन राइनोज पराजित हुँदा अंकतालिकाको तेस्रो स्थानमा रहेको विराटनगर किंग्स ८ अंकसहित स्वतः प्लेअफ पुगेको हो। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्सले छ खेलमा चार जित र दुई हारसहित आठ अंक जोडेको छ। पहिलो खेलमा पोखरा एभेन्जर्स विरुद्ध ५३ रनको जित दर्ता गरेको विराटनगर किंग्सले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई पाँच विकेटले हरायो।

तेस्रो खेलमा साबिक विजेता जनकपुर गोल्डमाथि नौ रनको जित दर्ता गरेको थियो। चौथो खेलमा भने विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भयो। पाँचौं खेलमा विराटनगर किंग्सले पुनरागमन गर्दै कर्णाली याक्स विरुद्ध तीन विकेटको जित दर्ता गर्यो। छैठौ खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पाँच विकेटले पराजित भयो। अब बिराटनगर किंग्सले अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स सँग लिग चरणको अन्तिम खेल खेल्न बाँकी छ। तर यो खेलको नतिजा दुवै टिमको लागि प्रतिस्पर्धाको लडाई हुनेछ। विराटनगर किङ्स जितसहित १० अंक जोड्दै शीर्ष दुई भित्र हटाउन चाहन्छ भने सुदूरपश्चिम अपराजित रहँदै पहिलो क्वालिफायर खेल्न चाहन्छ।

लुम्बिनी, पोखरा, चितवन र जनकपुरको एक स्थानको लागि प्रतिस्पर्धा जारी

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको प्लेअफ समीकरण निकै रोमाञ्चक बनेको छ। बाँकी रहेको एक स्थानको लागि चारवटा टिमको दाबेदारी रहेको छ।
लुम्बिनी लायन्सले छ खेल खेल्दै तीन जित र ३ हारसहित ६ अंक सहित सबैभन्दा बलियो स्थानमा प्रतिस्पर्धा दिइरहेको छ। हाल अंक तालिकाको पाँचौं स्थानमा रहेको पोखरा एभेन्जर्सले ६ खेलमा दुई जित र चार हार सहित चार अंक बटुलेको छ। चितवन राइनोजले पनि ६ खेलमा दुई जित र चार हार सहित चार अंक बटुलेको छ । जनकपुर बोल्ट्सले लिग चरणको पाँच खेल मात्रै खेलेको छ। जसमा एक जितसहित चार हार छन् । जनकपुरसँग दुई अंक रहेको छ। अंकगणितीय हिसाबले यी चारै टोली एक स्थानका लागि प्रतिस्पर्धाको लाइनमा छन्।

लुम्बिनी लायन्सले शुक्रबार जनकपुर बोल्ट्ससँग खेल्दैछ। लुम्बिनीको लिग चरणको अन्तिम खेल हो। जनकपुर बोल्ट्सका लागि यो छैंटौं खेल हो। लुम्बिनीले जनकपुरलाई हराउन सकेमा एक स्थान खाली भएको प्लेअफमा लुम्बिनी प्रवेश गर्नेछ। अन्य टोलीको सम्भावना सकिनेछ। भने यदि जनकपुरले लुम्बिनी लायन्सलाई पराजित गरेको खण्डमा एक स्थानको प्लेअफको दौड अझ रोमाञ्चक बन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...
: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणका लागि क्यानले २६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। क्यानले बिहीबार सार्वजनिक गरेको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लिग चरणको २३ औँ खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा छनोट भएको छ। पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो। काठमान्डु गोर्खाजको जितका लागि साहब आलमले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डुको जित पक्का गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट ...