: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम चन्द्र अधिकारी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४४ वर्षीय दिल बहादुर सारू मगर र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३५ वर्षीय चन्द्र भुसण प्रसाद रहेका छन्।
पक्राउ मध्ये श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्बिया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जना पीडितबाट १ करोड २५ लाख ७८ हजार ८ सय रुपैयाँ, दिल बहादुरले सर्विया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र चन्द्र भुसणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका-५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट र चन्द्र भुसणलाई ललितपुर महानगरपालिका-५ बाट बुधबार पक्राउ गरेको हो।
पक्राउ मध्ये दिलबहादुर र चन्द्र भुसणलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।