— गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी गराएका छन् ।
गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले तीमध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको बताए ।
कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि मन्त्री अर्यालको भनाइ छ । सरकारको मुख्य कार्यभार घोषित मितिमै भयरहित, स्वच्छ, स्वन्तन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्ने रहेको भन्दै उनले थपे, 'केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्नुहोला ।'
कुशासन र बेथितिविरुद्ध जेन-जी युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ छ ।
सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री अर्यालले कसैलाई काखा र पाखा नगरीकन सबैका कुरा सुनेको बताए । सबै राजनीतिक दल, नागरिकहरूमा आह्वान गर्दै मन्त्री अर्यालले भने, देश बनाउने अभिभारा सबैको हो प्रत्येक नागरिक यो राज्यका सदस्य हुन्। जसका लागि सरोकारवालासँगको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइनेछ ।'