— नेपाल प्रहरीले भदौ २४ गतेको प्रदर्शनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौंको सुन्धारा बस्ने १९ वर्षीय रामचन्द्र कुँवर र काठमाडौं बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी छन् ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकासँग नेपाल प्रहरी लेखिएको पेस्तोल एक थान र विभिन्न कम्पनीका मोबाइल दुई थान बरामद गरेको छ । पक्राउ रसिल जोशी लागूऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थामा जेन–जी आन्दोलनको मौका छोपेर भागेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता आचार्यले बताए ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयले जनाएको छ ।