: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताएका छन्।
एमालेको महाधिवेशनका लागि गठित प्रचार समितिद्वारा आज पार्टी कार्यालय च्यासलमा आयोजित ११ औँ महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्वसहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न भन्ने प्रचार गलत रहेको बताए।
उनले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रूपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने स्पष्ट गरे। ‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन। स्वच्छ प्रतिस्पर्धा हुनेछ। एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन। चुनाव लड्न पाइन्छ तर अध्यक्षका रूपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एक अर्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ,’ अध्यक्ष ओलीले भने।
पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकार आतंक र त्रासको जगमा संविधानविपरीत निर्मित भएको र सिंहदरबारमा एक प्रकारको ‘बुख्याँचा’ प्रवेश गरेको टिप्पणी गरे। जनताबाट निर्वाचितहरू सरकार बाहिर रहनुपर्ने र अनिर्वाचितहरु सिंहदरबारमा बस्नुपर्ने कुरा लोकतान्त्रिक र संविधानसम्मत् हुन नसक्ने ठोकुवा गर्दै उनले यो सरकार संविधान विपरीत छ र विघठित संसद् पुनर्स्थापित हुनुपर्छ भन्ने देखिएको सत्यलाई निर्भयताका साथ भन्ने सक्ने पार्टी एमाले मात्रै भएको स्पष्ट गरे।