: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्।
कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्।
कांग्रेसको आन्तरिक जीवन र महाधिवेशन प्रक्रियामा देखिएको लामो अन्यौलता र निर्णयहिनताले पार्टी गम्भीर संकटको मोडमा उभिएको भन्दै उनीहरूले यस अवस्थाको सम्पूर्ण जिम्मेवारी वर्तमान केन्द्रीय नेतृत्वले लिनुपर्ने जनाएका छन्।
नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी अनावश्यक रूपमा केन्द्रीय समितिको बैठक लम्बाइराख्ने प्रवृत्ति पार्टीकै लागि समेत उचित भएको कांग्रेस नेता देवराज चालिसेले बताए। उनले आफूहरूले चुनावअघिको शक्ति र अवस्था नभई नयाँ नीति र नेतृत्व खोजेको स्पष्ट पारे।
चालिसेले वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व निर्वाचित हुने अवस्थामा मात्रै विशेष महाधिवेशनको माग स्वतः निष्कृय हुने भन्दै त्यस बाहेकका अवस्था विशेष महाधिवेशनको अधिकारलाई कसैले रोक्न नसक्ने धारणा राखे।
विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले एकताबद्ध र जनअपेक्षित कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा पुष २८ भित्र विशेष महाविधेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्ने जनाएका छन्।