: सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध कारोबारमा संलग्न चार जना भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ।
मंगलबार राति दुहवी नगरपालिका–१० स्थित जगुवा चोकको एक होटलबाट चार जनालाई पक्राउ गरेको हो।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका चारैजना भारतीय नागरिक रहेको सुनसरीका प्रहरी प्रमुख एसपी केशब कुमार थेबेले बताए।
प्रहरीलाई देखेपछि शंकास्पद वस्तु फालेर भाग्न खोजेका ती व्यक्तिलाई पक्राउ गरी थप खोजतलासी गर्दा बुधबार सेतो प्लाष्टिकका दुई पोकाभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ११.६ ग्राम बरामद गरिएको एसपी थेबेले बताए।
पक्राउ पर्नेमा भारतका १८ वर्षीय महमद हैदर, २६ वर्षीय सिन्टु कुमार पासमान, २८ वर्षीय सुमित कुमार पासमान र १८ वर्षीय गौरव झा रहेका छन्।
उनीहरूलाई ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको एसपी थेबेले बताए।
यस्तै प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पक्राउ गरेको छ। पूर्वबाट पश्चिमतर्फ पैदल जाँदै गरेका उनलाई चेकजाँच गर्दा झोलाभित्र लुकाइएका २०/२० एम्पुलका डाइजेपाम, फेनार्गन र ब्रुफे नर्फिन गरी कुल ६० एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ।