: गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताएका छन्।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनलाई लक्षित गर्दै तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी निरन्तर सुरक्षा समितिको बैठक बसेर विभिन्न निर्णय भएको जानकारी दिँदै निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनले देशको विद्यमान कानुनी व्यवस्थाभित्र रहेर आगामी दिनमा हिंसा र द्वन्द्व दोहोरिने कुरा धेरै हदसम्म काबु भित्र राखेको बताए। उनले सरकारले निरन्तर राजनीतिक दल र जेनजी समूहसँग संवाद गरिरहेको उल्लेख गरे।
गृहमन्त्री अर्यालले लुटिएका हतियार फिर्ता गर्न चलाइएको सेक्युरिटी अप्रेशनमार्फत हालसम्म ७२३ थान हतियार फिर्ता ल्याइएको जानकारी दिए। त्यस्तै जेनजी घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५९५ जनालाई पक्राउ गरिएको तथा २८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको र कारागार तथा बन्दी गृहबाट फरार भएका १४ हजार ५५४ कैदीबन्दीमध्ये नौ हजार ६९७ लाई फिर्ता ल्याइसकिएको उल्लेख गरे। बाँकी चार हजार ८५७ कैदीबन्दी फिर्ता ल्याउन विशेष ‘अपरेसन’ सञ्चालन गरिएको उनले जानकारी दिए।
उनले प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण नागरिक सहयोग प्राप्त भएकाले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने जिकिर गरे। जेनजी आन्दोलनपश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको उनले बताए।
बैठकमा समिति सदस्यहरूले निर्वाचनको तयारी र मुलुकको सुरक्षा अवस्थाका बारेमा गृहमन्त्रीसँग चासो व्यक्त गरेका थिए।