: मुख्य सचिव सुमनराज अर्यालले सार्वजनिक प्रशासन सञ्चालन तथा व्यवस्थापनको जीवन्तता निजामती प्रशासनको स्वरुप,सबलता र क्रियाशीलतामा निर्भर हुने बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहणपछि मुख्यसचिव अर्यालले निजामती प्रशासन जति चुस्त,स्वच्छ,इमान्दार , जनसेवी विकासमैत्री हुनसक्यो मुलुकमा सुशासनको स्तर त्यत्ति नै माथि जाने बताए।
उनले अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत तत्व भएको बताए। यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न नहुने उनको भनाइ छ। उनले भने,'अनुशासन र चेन अफ कमाण्ड निजामति सेवाका आधारभूत तत्व भएको बताए। यिनलाई कुनै पनि बहानामा भत्काउन र बिगार्न हुँदैन। सबै साथीहरूलाई यी दुई कु्राहरूलाई सदैव हृदयङ्गम गरी आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्न चाहन्छु।'
यसैगरी मुख्यसचिव अर्यालले मुलुकको समृद्धि र सुशासनका लागि राजनीति र प्रशासन एक अर्काका परिपुरक भएको बताउँदै राजनीति र प्रशासनबीच आपसी विश्वास,समन्वय र सहयोग हुनु आवश्यक रहेको औंल्याए।
उनले जेनजी पुस्ताका असल मागहरू गम्भीरताका साथ मनन गर्नुपर्ने बताए। उनले भने,'जेनजी पुस्ताले हामीसँग असल र उत्तरदायी शासनको माग गरेका छन्। देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएका छन्। यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ। यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी,सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रुपमा स्थापित गर्न नेतृ्त्व तहमा काम गर्ने हामीले आवश्यक पहलकदमी लिनुपर्छ।'
उनले मुख्य सचिवको रुपमा आफ्नो स्वार्थ र एजेन्डा केही नहुने बताउँदै जिम्मेवारीका साथ काम गर्ने बताए।