: इथियोपियामा ज्वालामुखी विष्फोट भएको छ। यो १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विष्फोट भएको हो। विस्फोटबाट उत्पन्न खरानी र सल्फर डाइअक्साइड लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो। जुन लाल सागरमा फैलिएर यमन र ओमानसम्म पुग्यो।
सोमबार राति करिब ११ बजेतिर इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाढा रहेको दिल्लीको आकाशमा खरानीको यो बादल फैलियो। इन्डिया मेट स्काई वेदर अलर्टले खरानीको यो बादल जोधपुर-जैसलमेर क्षेत्रबाट भारतमा प्रवेश गरेको र अब उत्तरपूर्वतिर सर्दै गएको जनाएको छ।
यो बादल राजस्थान,हरियाणा र दिल्लीमा फैलिएको छ। यसको एक भाग गुजरातलाई पनि छुने सम्भावना छ। यसको प्रभाव रातको समयमा पञ्जाब,पश्चिमी उत्तर प्रदेशको पहाडी क्षेत्र र हिमाचल प्रदेशमा देखिने अनुमान गरिएको छ।
यसको प्रभाव देखिएपछि एयर इन्डियाले आफ्ना ११ उडानहरू रद्द गरेको छ। 'हायली गुब्बी ज्वालामुखी विष्फोट पछि निश्चित क्षेत्रहरूमा उडान भरेका विमानहरूको सावधानीपूर्वक जाँच गरिरहेकाले एयर इन्डियाका उडानहरू रद्द गरिएको छ,'एक्समा जानकारी दिँदैएयरलाइन्सले लेखेको छ।
एयरलाइन्सले भनेको छ,'हाम्रा नेटवर्कभरिका ग्राउन्ड टोलीहरूले यात्रुहरूलाई उनीहरूको उडानको स्थितिको बारेमा अद्यावधिक गरिरहेका छन् र होटल आवाससहित तत्काल सहयोग प्रदान गरिरहेका छन्। हामी सकेसम्म चाँडो पुन:यात्राको व्यवस्था गर्न कोशिस गरिरहेका छौं।
एयर इन्डियाले यात्रुहरूलाई पर्न गएको असुविधाको लागि माफी माग्दै यात्रुको सुरक्षा आफ्नो प्राथमिकता भएको बताएको छ। विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। तर, यमन र ओमानका सरकारले विशेषगरी श्वासप्रश्वासको समस्या भएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्।