— कांग्रेसको विशेष महाधिवेशन अनिवार्य रहेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । महाधिवेशन नहुने भन्ने व्यवस्था पार्टी विधानमा नरहेको शर्माले स्पष्ट पारेका छन् ।
उदयपुरको गाईघाटमा आयोजित कार्यक्रममा महामन्त्री शर्माले पार्टीसामू विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । 'कांग्रेसको विधान भन्छ, विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन, त्यसैले विशेषको `ब्याक गियर´ हुन्न । ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ,' उनले भने, 'सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ । कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।'
पार्टीमा कुन नेताले के भन्छन् भन्ने कुरा मुख्य नभएको शर्माले बताए । 'दुई महामन्त्री के भन्छन् या ७ भाइ के भन्छन्, अब त्यो मुख्य कुरा होइन । असोज २८ मा लिखित वक्तव्यमार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियो, अब त्यो कायम राख्ने कि नराख्ने मुल प्रश्न हो,' शर्माले भने, 'उहाँको वक्तव्यमा `मंसिरमा महाधिवेशन´ छुट्नु हुन्न थियो । त्यो छुट्नु गल्ती प्रमाणित भएको छ । पार्टी र देशको आजको समाधानका लागि सभापतिले निर्णायक पहलकदमी लिनुपर्छ । उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्याउने मलाई विश्वास छ ।'
कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नियमित भन्ने विषयमा विवाद रहेको छ ।