: सुनसरी, मोरङ र झापाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ। लागूऔषध कारोबार नियन्त्रणमा खटिएको प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत बिहारका राजु कुमार सोनीलाई लागूऔषध इन्ट्राजेपाम -१४० ट्याब्लेट र ट्रमाडोल-८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ। त्यस्तै, अस्थायी प्रहरी पोष्ट विजयपुरले धरान–१५ का सनम लिम्बुलाई ट्रमाडोल-३०० क्याप्सुल र स्पस्पान-२४० ट्याब्लेटसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईले बताए।
त्यस्तै इलाका प्रहरी कार्यालय सिजुवा, मोरङले रतुवामाई नगरपालिका–९ का भिमदेव श्रेष्ठलाई २०६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ। लागूऔषध ब्राउन सुगर तस्करी तथा सेवन नियन्त्रण अभियानअन्तर्गत प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ।
मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ मा चेकजाँचका क्रममा विराटनगर–१३ का रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। साथै इलाका प्रहरी कार्यालय रानी (सीमा)ले सप्तरी बोधेबर्साइनका दुर्गानन्द यादवलाई ४७ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी–५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–४ का दिलीप कुमार माझी र उनकी श्रीमती रोमा राणालाई ४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका लागूऔषध कारोबारी विरुद्ध सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडि बढाएको कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी दीपक पोखरेलले जानकारी दिए।