: गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताएका छन्।
मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने र सुशासनका निम्ती सबल आधार तयार गर्ने रहेकाले सरकारको ध्यान त्यसतर्फ केन्द्रित रहेको बताए।
उनले केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ सुरक्षा योजना तयार गरी कार्यान्वयनमा जान निर्देशनसमेत दिए। राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीको रूपमा औंल्याएको अवस्थामा विशेष अपरेशनमार्फत अधिकांश हतियार फिर्ता ल्याइसकेको उनले दाबी गरे।
सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउनुपर्नेमा जोड दिए। लुम्बिनी प्रदेशमा सुरु भएको निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी सबै प्रदेशमा सम्पन्न गरिने बताइएको छ।