। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्लस टु र एसईईको तुलनामा विश्वविद्यालयहरुको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले तालिकाअनुसार नै परीक्षा सञ्चालन गरी छिटो नतिजा निकाल्न र विद्यार्थीलाई सर्टिफिकेट वितरण गर्न अनुरोधसमेत गरे ।
भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘एसईई र प्लसटुको जाँचमा करिब–करिब पाँच लाख भन्दा बढी विद्यार्थीहरु हुनेरहेछन् । एसईईको पाँच लाख जति, प्लस टुको पाँच लाख जति । तिनीहरुको जाँच लिएर तीन महिनाभित्रमा त उहाँहरुले परीक्षाफल प्रकाशित गर्नुहुन्छ ।’
तर विश्वविद्यालयको भने आठ–नौ महिनासम्म पनि परीक्षा नहुने गरेको भन्दै उनले यसमा प्राध्यापकहरुको लापरवाही देखिएको बताए । त्यसलाई कन्ट्रोल गर्न उनले अनुरोध गरे ।
मन्त्री पुनले भने, ‘आठ–नौ महिनासम्म पनि परीक्षा नहुने, यो सबै कुराहरु टाइममा नहुने कारणहरु, त्यसमा चाहिँ हाम्रो प्राध्यापकहरुको, सरहरुको अलिकति लापरवाही देखिन्छ । लापरवाहीलाई कसरी कन्ट्रोल गर्ने हो । यो कुरा भीसी ज्यूहरुले गर्नुपर्ने हो । यो राम्रोसँग गर्नुहोला । यो मेरो गुनासो हो, ठूलो गुनासो हो ।’
मन्त्री पुनले विश्वविद्यालयहरू सम्बन्धन दिनमा मात्रै केन्द्रित हुँदा शिक्षाको गुणस्तर खस्कँदै गएको पनि बताए ।
उनले अगाडि भने, ‘मन्त्रालयको पूँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयका लागि आओस् भन्नका लागि हामी त्यसमा काम गरिरहेका छौं । अहिले विश्वविद्यालयहरूको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरूमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिस्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।’
उनले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।