। एबेरेची एजेले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो ।
एजेको ह्याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे ।
खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा एजेले गोल गरेपछि आर्सनल पहिलो हाफमा २-० ले अगाडि रह्यो ।
दोस्रो हाफको ४६औं मिनेटमा एजेले व्यक्तिगत दोस्रो गोल गरे भने ७६औं मिनेटमा फेरि गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि रिचार्लिसनले ५५औं मिनेटमा गोल फर्काएका थिए ।
जितपछि आर्सनलले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । आर्सनलको १२ खेलमा २९ अंक छ भने दोस्रो स्थानको चेल्सीको समान खेलमा २३ अंक छ ।