: जेन—जी प्रदर्शनका क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारीसाधनमा आगजनी भयो। सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा ४ सय ४१ वटा चारपांग्रे सवारीसाधन र ६ सय १ भन्दा बढी दुईपांग्रे सवारीसाधन जलेर ध्वस्त भए। प्रहरीका विभिन्न कार्यालय र युनिटमा आक्रमण हुँदा धेरै प्रहरीका सवारीसाधन जले। विभिन्न जिल्ला र प्रदेश कार्यालयमा भएको सवारीसाधन क्षतिको विवरण भने पूरा आइसकेको छैन।
राष्ट्रिय योजना आयोगका सूचना अधिकारी दिवाकर लुइँटेलका अनुसार देशभरका सरकारी सवारीसाधनमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। योजना आयोगले यसका लागि समिति नै गठन गरेर काम गरिरहेको छ। विभिन्न जिल्लाबाट विवरणहरू आइरहेका आयोगले जनाएको छ। भौतिक क्षतिदेखि सवारी क्षतिलगायतका विवरण संकलन भइरहेका छन। जेन—जी आन्दोलनका क्रममा निजी तथा सरकारी र संस्थानका गरी हजारौंको संख्यामा सवारीसाधन जलेका थिए।
जेन—जी आन्दोलनपछि नेपाल बिमा प्राधिकरणमा २ हजार २ सय ९० वटा मोटरको बिमा दाबी गरिएको छ। जलेका, तोडफोड भएका सवारीसाधनमध्ये बिमा गरेकाहरूको बिमा दाबी हुन्छ। क्षतिपूर्ति पाइन्छ। तर बिमा नगरिएका सवारीसाधनको हकमा भने व्यक्ति वा संस्था स्वयम्ले नै क्षति व्यहोर्नुपर्ने हुन्छ।
०००
जलेका तथा तोडफोड भएका सवारीसाधनका थुप्रिएका छन्। सिंहदरबारभित्रका मन्त्रालय होस् कि अन्यत्रका कार्यालय डढेका सवारीसाधनको थुप्रोले कुरूप देखिएका छन्। नयाँबानेश्वरस्थित संसद् भवन पछाडि डढेका सवारीसाधनको थुप्रो नै छ। सडकमा आगलागी भएका गाडी बोकेका ट्रली गुडिरहेको देखिन्छन्। यी डढेका गाडीहरूको व्यवस्थापन कसरी हुन्छ त ? गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, अहिले सिंहदरबारभित्रका गाडीहरू संसद् भवन पछाडि संकलन गरिएका छन। ती गाडीलाई बेच्नको लागि बोलकबोल गरी ठेक्का लगाइन्छ। एउटै निकायले ठेक्का लगाउने भनेर निर्णय भइसकेको छैन। आगलागी भएका सवारीसाधन हटाउने र कलेक्सन गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार, सामान्य तोडफोड गरिएका सवारीसाधन बनाएर चलाउन सकिन्छ। तर जेन—जी आन्दोलनका क्रममा मन्त्रालयमा भएका अधिकांश सवारीसाधन पूर्ण रूपमा जलेका छन्। आगलागीबाट जलेका सवारीसाधन स्क्रयाब तथा कवाड सामानको रूपमा बिक्री हुन्छन्। जसमा सवारीसाधनमा प्रयोग भएका फलाममात्रै पुनप्र्रयोग हुन्छ।
कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताका अनुसार, स्क्र्याब गरिएका सवारीसाधनको मूल्य प्रतिकिलो ४१ रुपैयाँ तोकिएको छ। कवाड समाजको कात्तिक २७ गते बसेको बैठकले पुरानो फलामको मूल्य प्रतिकिलो ४१ र प्लास्टिक १५ रुपैया तोकेको छ। उनी भन्छन्, ‘जलेका सवारीसाधनको बोलकबोल गर्नको लागि विभिन्न मन्त्रालय तथा कार्यालयबाट फोन आइरहेको छ। ठेक्का लिएर काम गरिसकेको अवस्था छैन। अहिले उक्त सवारीसाधन हटाउने र एकै ठाउँ संकलन गर्ने काममात्रै भएको छ।
अध्यक्ष गुप्ताका अनुसार यसरी उठाइएको फलामको पुनर्प्रयोगमा हुन्छ। यस्ता सामान कवाड व्यवसायीले किन्ने गर्छन्। उनीहरूबाट विभिन्न स्टिल कम्पनी तथा फलाम कम्पनीहरूमा बिक्री गरेर पुनप्र्रयोग हुन्छ। पुरानो फलाम पेलेर पुनः नयाँ फलामको सामान बनाइन्छ।
ट्राफिक कारबाहीमा परेका सवारीको क्षतिपूर्ति कसले दिन्छ ?
उपत्यका ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार आन्दोलनका क्रममा महाशाखामा रहेका सबै सवारीसाधन जले। ट्राफिक कार्यालयको ६० वटा दुईपांग्रे, २६ वटा चारपांग्रे सवारी सवारीसाधन पूर्ण रूपमा जले। प्रहरी कर्मचारीको ९३ वटा दुईपांग्रे सवारी र २ वटा चारपांग्रे सवारीसाधन जले।
विभिन्न कारबाहीका लागि ट्राफिकमा ल्याइएका ३ सय ४० वटा मोटरसाइकल र स्कुटर पूर्ण रूपमा जले। ५२ वटा हराएका छन्। कारबाहीका लागि आएको १६ वटा चारपांग्रे सवारीसाधन जले। महानगरपालिकाले उठाएका ३५ वटा स्कुटर र मोटरसाइकल पनि पूर्ण रूपमा क्षति भए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रमुख नवराज अधिकारीका अनुसार, सामान्यतया कारबाहीको क्रममा ट्राफिक कार्यालयमा ल्याइएका सवारीसाधनको संरक्षण गर्ने जिम्मा पनि कार्यालयकै हो। तर जेन—जी आन्दोलनका क्रममा ट्राफिकको भवनसमेत ध्वस्त भएको अवस्थामा अन्य सवारीसाधन पनि जोगाउन सकिएन।
कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘यहाँमात्रै नभएर विभिन्न कार्यालयमा भएका व्यक्तिका सवारीसाधन पनि जलेका छन्। हामीले कागजात बनाउने काम गरिरहेका छौं। क्षतिपूर्तिको विषयमा सरकारबाटै केही निर्णय होला। कागजात नै गलत भएका, बेवारिसे सवारीसाधनको क्षतिपूर्तिमा समस्या होला।’
ट्राफिक कार्यालयले मात्रै हैन, महानगर प्रहरी बलले पनि सडकको सवारीसाधन उठाएर लैजाने गरेको छ। महानगरले कारबाहीको लागि उठाएको ३५ वटा मोटरसाइकल, स्कुटर जलेका छन्। यसको क्षतिपूर्ति कसले दिन्छ त ? महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘अनधिकृत पार्किङ गरिएको र नियमसंगत नभएको सवारीसाधनको हकमा हामी जिम्मेवार छैनौं।’
जेन–जी आन्दोलनपछि हराए ५९१ दुईपांग्रे सवारीसाधन, ११० वटा फेला
जेन–जी आन्दोलनमा हराएका ५१ वटा मोटरसाइकल तथा स्कुटर फेला परेका छन्। उपत्यका ट्राफिक महाशाखाले बिहीबार एक कार्यक्रम गरी फेला परेका ५१ वटा मोटरसाइकल, स्कुटर सवारी धनीलाई बुझाएको छ। जेन–जी आन्दोलनपछि गत असोजमा उपत्यकाका विभिन्न ठाउँबाट हराएका भन्दै २ सय ५५ वटा उजुरी परेका थिए। उपत्यकामा कात्तिकमा ३ सय ३७ वटा दुईपांग्रे सवारीसाधन हराएको उजुरी प¥यो। मंसिरमा ३१ र भदौमा ३ वटा
उजुरी परेका छन्।
ट्राफिक महाशाखामा हराएको उजुरी दिएका सवारीसाधनमध्ये साउनयता १सय १० वटा सवारीसाधन फेला परिसकेका छन्। उपत्यका ट्राफिक महाशाखा प्रमुख नवराज अधिकारीका अनुसार आन्दोलनका क्रममा हराएको भन्दै धेरै उजुरी दर्ता भए। यसपछि पनि सडकबाटै विभिन्न मितिमा सवारीसाधन हराउने प्रवृत्ति बढ्दो छ। हराएकामध्ये बिहीबार बुझाइएकामा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा ती सवारीसाधन फेला परेका थिए।
उपत्यकाको विभिन्न स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो। चोरीका ९ वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न १९ जनालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिएको छ। आव २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ वटा दुईपांग्रे सवारीसाधन खोजतलास गरी भेट्टाइएको ट्राफिक महाशाखाका प्रवक्ता नरेशराज सुवेदीले बताए ।
महाशाखा प्रमुख अधिकारी भन्छन्, ‘उपत्यकामा मोटरसाइकल स्कुटर हराउने क्रम निकै बढ्दो छ। चोरीका सवारी खोज्नका लागि ट्राफिक प्रहरीले अलग्गै टोली बनाएर काम गरिरहेको छ। खोज्ने क्रममा एउटै व्यक्तिले २०० वटाभन्दा बढी मोटरसाइकल चोरी गरेको पनि भेट्टाइएको छ।’ मकवानपुर मनहरिका संवीरे रुम्वाले २०० भन्दा बढी मोटरसाइकल चोरी गरेको कसुरमा अनुसन्धान भइरहेको छ।