: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि अनिवार्य रूपमा गर्नैपर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रूपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन्।
महामन्त्री थापाले निर्वाचनअघि नियमित महाधिवेशन गर्नका लागि समय अपुग हुने भएकाले अव विशेष महाधिवेशन निर्विकल्प भएको बताए। उनले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे। उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुसभित्र आवधिक अधिवेशन वा मंसिर मसान्तभित्र विशेष महाधिवेशनको निर्णय गर्नेबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारे।
महामन्त्री थापाले महाधिवेशनका विषयमा सकभर एकमतका साथै निर्णय गर्ने प्रयास भइरहेको पनि बताए।