: वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली महिलालाई साउदी अरब पुर्याएको घटनामा संलग्न प्रतिवादीलाई प्रहरीले डेढ दशकपछि पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा–६ की ५० वर्षीया बिना राई (लिम्बू) मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १५ वर्षदेखि फरार थिइन्। लामो समयदेखि कानुनी प्रक्रियाबाट टाढा बस्दै आएकी उनलाई प्रहरीले बिहीबार राति घरमै पुगेर नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी गछियाबाट खटिएको सई (प्रहरी नायव निरीक्षक) गणेश दाहाल नेतृत्वको टोलीले गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको छ। बिनाविरुद्ध २०६७ असोज ५ गते इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दर्ता भएको थियो। तर, जाहेरी दर्ता भएयता उनी फरार भएपछि मुद्दा वर्षौंदेखि ‘पेन्डिङ’ अवस्थामा थियो। प्रहरीका अनुसार उनी हालसम्म सुन्दरहरैँचामै लुकिछिपी बस्दै आएको पत्ता लागेको छ।
प्रारम्भिक अनुसन्धानले बिनाले वैदेशिक रोजगारी र आकर्षक आम्दानीको लोभ देखाएर एक नेपाली महिलालाई भारतको नयाँ दिल्लीको बाटो हुँदै साउदी अरब पुर्याएको पत्ता लागेको छ। साउदी पुगेपछि पीडित महिलाले लगातार श्रमशोषण, दुव्र्यवहार र बन्धनजस्तो अवस्था सहनु परेको विवरण दूतावासमार्फत नेपाल फर्किएपछि उजागर भएको थियो। राजदूतावासको सहयोगमा नेपाल फर्किएर पीडितले किटानी जाहेरी दर्ता गराएको थाहा पाउनासाथ बिना फरार भएकी थिइन्।
पीडितले कानुनी न्याय खोजिरहे पनि प्रतिवादी वर्षौंदेखि पक्राउ नपर्दा मुद्दा अघि बढ्न सकेको थिएन। अब भने प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। बिनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरातमा राखेर इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मुद्दा पुरानो भए पनि तथ्य संवेदनशील भएकाले अनुसन्धानलाई ‘उच्च प्राथमिकतामा’ राखिएको छ। ‘पीडितले दूतावासमार्फत फर्किएर जाहेरी दिए पनि प्रतिवादी फरार हुँदा कानुनी प्रक्रिया अघि बढेको रहेनछ,’ कटवालले भने, ‘अब उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गरेर मुद्दा दर्ताको प्रक्रिया अघि बढ्छ।’
नेपालमा वैदेशिक रोजगारीका नाममा हुने प्रलोभन, ठगी र मानव बेचबिखनका घटना वर्षौंदेखि प्रमुख चुनौती मानिँदै आएका छन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार विदेश पुर्याएर श्रमशोषणमा धकेल्ने काम १० देखि १५ वर्षसम्म कैदयोग्य गम्भीर अपराध हो। साथै साउदी अरबमा नेपाली महिलालाई घरेलु श्रमका लागि पठाउनै नपाइने सरकारी नीति रहेकाले बिनामाथिको आरोप झनै गम्भीर रहेको प्रहरीले जनाएको छ।
लामो समयसम्म प्रतिवादी फरार रहँदा प्रमाण संकलनमा ढिलाइ हुनु, पीडितले न्याय पाउन वर्षौं कुर्नुपर्ने अवस्था सिर्जना हुनु जस्ता समस्या नेपालका धेरै मानव बेचबिखनसँग सम्बन्धित घटनामा देखिने गरेका छन्। बिनाको गिरफ्तारीसँगै १५ वर्षअघिको उजुरी पुनः सक्रिय भएर न्याय पाउने आशा पीडितले गरेकी छन्।
दूतावासले तयार पारेको जोखिम मूल्यांकन प्रतिवेदन, पीडितको बयान, श्रमशोषणको प्रमाण, अभियुक्तको भूमिका स्पष्ट पार्ने कागजात तथा प्रहरीले अनुसन्धानबाट तयार पारेको विस्तृत प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दर्ता हुने छ। त्यसपछि घटनामा बिनाको संलग्नता छ कि छैन भनेर अदालतले यकिन गर्छ। घटना पुरानो भएपनि संवेदनशीलताका कारण बाँकी प्रक्रिया छिटो अघि बढाइने एसपी कटवालले बताए।