मुख्य समाचार
जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित
जेनजीसँग मौखिक सहमति, सोमबारसम्म आन्दोलन स्थगित

। बाराको सिमरामा बुधबारदेखि यताको तनाव अन्त्य गर्न आन्दोलनरत जेनजीहरू सहमत भएका छन् ।
शुक्रबार पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा भएको प्रशासन र जेनजीबीचको वार्तामा स्थानीय प्रशासनले घटनामा संलग्नहरूलाई कारबाही गर्ने विषयमा आश्वस्त पारेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जेनजी युवाहरूले बताएका छन् ।

बाराका जेनजी संयोजक सम्राट उपाध्यायले नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि भएको आक्रमण भएको भन्दै दोषीलाई कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने र जेनजी युवाहरूको सुरक्षा गर्ने जस्ता विषयमा प्रमुख जिल्ला अधिकारीबाट प्रतिबद्धता आएपछि आफूहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।

‘हामी प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता सुनेर ब्याक भएका छौं, लिखित सहमति गरिएको छैन,’ उपाध्यायले भने ।

शनिबार र आइतबार दुई दिन पर्खेर प्रशासनले सहमति कार्यान्वयनमा आलटाल गरे आन्दोलनका कार्यक्रम फेरि सार्वजनिक गर्ने उपाध्यायको भनाइ छ ।

‘हामी सोमबारसम्म हेर्छौं, उहाँहरूको प्रतिबद्धता कार्यान्वयन हुने देखिएन भने सडकबाटै न्याय माग्छौं,’ उपाध्यायले भने ।

प्रशासनसँगको छलफलपछि उपाध्यायले आफूहरूको आन्दोलन स्थगित मात्रै भएको बताए ।

‘हाम्रो आन्दोलन सकिएको होइन, स्थगित मात्रै भएको हो,’ उनले भने ।

बुधबारको घटनामा संलग्न सबैलाई कारबाही नभएसम्म आफूहरूको आन्दोलन नसकिने उपाध्यायको भनाइ छ ।

किन भएन सहमति ?

करिब चार घण्टा चलेको छलफलमा जेनजीले प्रशासन समक्ष ६ वटा माग पेस गरेर लिखित सहमति मागेका थिए । तर, बाराका प्रमुख जिल्ला अधिकारीले लिखित रूपमा सहमति गर्ने अधिकार आफूसँग नभएको भन्दै मौखिक रूपमा आफूलाई विश्वास गर्न आग्रह गरे ।

‘म यहाँ तपाईहरूसँग सहमतिभन्दा पनि छलफल गर्न आएको हुँ, मेरो विश्वासमा मानिदिनुस् दोषीलाई कारबाही हुन्छ,’ सीडीओ मिश्रले भने ।

सुरुमा स्थानीय जेनजी युवाहरूले लिखित सहमतिलाई पहिलो म्यान्डेट बनाएका थिए । तर छलफल चल्दै गर्दा प्रवेश गरेका जेनजीका अगुवा सुदन गुरुङले मौखिक सहमतिमै पनि प्रमुख जिल्ला अधिकारीलाई विश्वास गर्न सकिने भन्दै छलफल टुंग्याए ।

‘सीडीओ जत्तिको मान्छेले क्यामेराका अघि बोलेका कुरामा हामीले विश्वास गर्नुपर्छ,’ गुरुङले भने ।

तर जेनजीसँग भएको छलफलमा सहमति जुटेका विषयलाई विज्ञप्तिका रूपमा प्रशासनले प्रकाशन गर्ने प्रतिबद्धता सीडीओ मिश्रले जनाएका छन् ।

सुदनले मागे लिखित सम्झौता, सीडीओले गरे ‘इमोस्नल’ कुरा

छलफल गरेर उठ्ने बेलासम्म सुदनले प्रमुख जिल्ला अधिकारीसँग लिखित सम्झौता मागिरहेका थिए ।

‘सबैभन्दा ठूलो प्रमाण हो, हामीलाई लिखित सहमति चाहिन्छ, त्यो बलियो हुन्छ,’ सुदनले प्रमुख जिल्ला अधिकारीलाई भने ।

सुदनले त्यसो भनेपछि प्रमुख जिल्ला अधिकारीले माथि समन्वय गर्नुपर्ने भएकाले आफ्नो समस्या बुझिदिन आग्रह गरे ।

सुदनले माथि समन्वय गरेर आइतबारसम्म सहमतिलाई लिखित दस्तावेज बनाउन समय दिए ।


‘तपाईं माथि समन्वय आजै गर्नुहोला, माथि भन्न पर्छ भने म पनि भन्दिउँला,’ सुदनले प्रमुख जिल्ला अधिकारीलाई भने ।

तर प्रमुख जिल्ला अधिकारीले फेरि मौखिक सहमतिलाई नै विश्वास गर्न आग्रह दोहोर्‍याए ।

‘यहाँहरूले सीडीओलाई विश्वास गदिर्नु भयो भने मेरो पनि मोरल हाई हुन्छ, मलाई पब्लिकले विश्वास नगर्ने हो भने म यहाँ किन बस्नू,’ मिश्रले सुदनसँग भने ।

त्यसपछि अन्त्यमा सीडीओ कार्यालयको तर्फबाट विज्ञप्ति निकाल्ने भन्दै प्रशासन–जेनजी संवाद टुंगिएको थियो ।

के–के छन् जेनजीका मागहरू ?

१. सुरक्षामा कमजोरी गर्ने बाराका एसपी सन्तोष तामाङसहित जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई कारबाही हुनुपर्ने ।

२. जेनजी प्रदर्शनकारी र प्रदर्शनमा सहयोग गर्ने सबैको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने ।

३. जेनजीलाई हातपात गर्ने सबैलाई हदैसम्मको कारबाही हुनुपर्ने ।

४. जेनजीमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता अरविन्द साहको टेलिफोन रेकर्ड छानबिन हुनुपर्ने ।

५. राज्यको तर्फबाट घाइतेको निशुल्क उपचार र उचित क्षतिपूर्तिको व्यवस्थापन हुनुपर्ने ।

६. सुरुको जाहेरीमा नाम उल्लेख नभएका एमालेका स्थानीय कार्यकर्ता नवराज बस्नेत र विशाल लामालाई पूरक जाहेरी लिएर नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने ।

जेनजीका ६ वटै मागमा प्रशासनले मौखिक सहमति जनाएको छ । जाहेरी परेदेखि फरार रहेका व्यक्तिहरूलाई कहिलेसम्म पक्राउ गर्ने भन्ने विषयमा प्रश्न उठेपछि बाराका प्रहरी प्रमुख सन्तोष तामाङले समय तोक्न नमिल्ने भन्दै यथासक्य चाँडो पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् ।

जेनजीलेपछि नाम दिएका व्यक्तिहरूको हकमा प्रहरीले पूरक जाहेरी लिने एसपी तामाङले बताएका छन् ।

घाइतेहरूको उपचार र क्षतिपूर्तिको विषयमा सीडीओ मिश्रले उपल्लो निकायमा समन्वय गरेर जानकारी गराउने बताएका छन् ।
सीडीओ मिश्रले भने, ‘जेनजीमाथि आक्रमण गर्न ६ जनाविरुद्ध उजुरी परेको छ । तीमध्ये ३ जना पक्राउ परिसकेका छन् । उहाँहरूले अझै ३ जना पक्राउ गर्नुपर्ने माग राखेका छन् । हामीले पनि घटनामा संलग्नहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जाहेर गरेका छौं । प्रशासनको प्रतिबद्धतापछि उहाँहरूले पनि आन्दोलनका कार्यक्रम स्थगित गर्नु भएको छ ।’

जेनजी युवाको सुरक्षाको सवालमा नागरिकको सुरक्षा गर्नु आफुहरूको कर्तव्य रहेको भन्दै सीडीओ र एसपी दुवै जनाले कसैले धम्की दिएमा आफूहरूलाई तत्काल खबर गर्न आग्रह गरेका छन् ।

प्रशासनसँगको छलफलमा जेनजी युवाहरू आफ्ना बारा संयोजक सम्राट उपाध्यायको नेतृत्वमा गएका थिए ।

पछि जनकपुरबाट आएका सुदन गुरुङ, पुरुषोत्तम यादव र मधेश प्रदेशका संयोजक शिव यादव पनि वार्तामा सहभागी भएका थिए । आन्दोलनरत पक्षबाट कपिल खरेल, आयुष न्यौपाने लगायतका युवाहरूको वार्ता टोलीमा सहभागिता थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको प्रशासनको टोलीमा बारास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपेली संसदमा रुस समर्थक भाषण दिन घूस लिएको अभियोगमा बेलायतका पूर्वसांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ । पूर्वसांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो लिएको र उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिएको र सोही कुरा र टेलिभिजनमार्फत् पनि भनेको आरोपमा दोषी ...
। बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो । बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ । त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।
। प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छिन् । सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उजागर गरेका छन् । प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह ...
। रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् । दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले ...
अर्थ मन्त्रालयका २० सवारीसाधनको गरियो पूर्णबीमा