: भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गाजा तस्करी गर्ने युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले लागुऔषध गाँजा तस्करीमा संलग्न एक युवकलाई बिहीबार राती नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चौक नजिकै गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचगर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
अस्थायी प्रहरी चौकी नडाहाबाट प्रसनि जिवनाथ भट्टको कमाण्डमा गस्तीमा खटिएको टोलीले धरानबाट नडाहा आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ११ बिएफ ०१८९ को मोटरसाइकललाई शंका लागि रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको पछाडितिर राखिएको दुईवटा प्लास्टिकका बोरा खोजतलास गर्दा करिब ४० केजी बराबरको लागुऔषध गाँजा फेला परेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन् ।
उक्त मोटरसाइकल चालक जिल्ला सप्तरी, राजविराज नगरपालिका–२ का १८ वर्षीय लालदेव रजकलाई पक्राउ गरिएको कुवरले बताए । गाँजासहित पक्राउ परेका रजकलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नडाहामा राखिएको छ ।
प्रहरीले मोटरसाइकल र बरामद गरिएको गाँजा समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ। यस्तै, सीमा नजिकका मार्ग हुँदै भइरहेका अवैध लागुऔषध तस्करी नियन्त्रणका लागि कडाइका साथ चेकजाँच जारी राखिने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक कुवरले बताए।