— हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अतिक्रमण गरेर बनाइएका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा र संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको छ ।
सडकको मध्यभागबाट २५/२५ मिटर दायाँबायाँ बनेका संरचना हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना हटाउन कार्यालयले भनेको छ । कार्यालयले यसअघि घरटहरा हटाउन भन्दै दुई वर्षअघि सूचना निकालेको थियो । घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि रोकिएको थियो ।
सडक डिभिजन कार्यालयले पटक–पटक सडक विस्तारको सूचना निकाले पनि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा यसको विरोध हुँदै आएको छ । यसअघि असार २०७६ मा सूचना निकालेर १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्रको जग्गा खाली गराएयता सडक डिभिजनले अरु कारबाही रोकेको थियो । त्यतिबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो ।
सडक डिभिजन हेटौंडाले पुनः जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको हो । सर्वोच्चको २०७८ पुस १९ गते र विभिन्न मितिका उत्प्रेषण आदेशसमेतबाट सडक डिभिजन हेटौंडाअन्तर्गत पर्ने रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५/२५मिटर क्षेत्रमा क्षतिपूर्ति पाउने हुँदैन भनी फैसला भएको सूचनामा उल्लेख छ ।
‘२०८०असार १० गते यस डिभिजनबाट सडक सीमा अतिक्रमण हटाउन प्रकाशित सूचनाविरुद्ध परेको रिट निवेदनसमेत सम्मानित सर्वोच्च अदालतबाट खारेज भएको हुँदा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमाभित्र बनेका स्थायी अस्थायी घरटहरा तथा अन्य संरचना यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाई सडक सीमा खाली गरिदिन पुनः यो सूचना प्रकाशित गरिएको छ,’ सडक डिभिजन कार्यालयले भनेको छ ।
सडक डिभिजन हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सीमा खाली गराउन पटकपटक ताकेता गरिएको स्मरण गराउँदै अवैध संरचना हटाउन सूचना आह्वान गरेको हो । सडकको दायाँबायाँ २५–२५ मिटरमा रहेका व्यक्ति तथा व्यवसायिक गतिविधिका ती संरचना नहटाए डिभिजन कार्यालयले हटाउने र त्यसको लागत सम्बन्धितले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ ।
हेटौंडामा बिहीवार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ आएका थिए । उनले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासकहरुलाई भेटेर सडक फराकिलो बनाउन आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।