: नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हराएको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।
चितवनले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १८.३ ओभरमा ४ विकेट गुमाउँदै १४६ रनसहित लक्ष्य पूरा गरेको हो। लुम्बिनीका लागि गुल्बदिन नैबले सर्वाधिक ४४ रनमा अविजित रहे। उनले २४ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे।
लुम्बिनी लायन्सले पहिलो विकेटको रूपमा डार्सी सर्टको विकेट गुमाएको हो। उनले ६ बलमा १ चौका र १ छक्का सहित ११ रनमा रिजन ढकालको हातबाट बोल्ड भए।
दोस्रो विकेटको रूपमा सन्दीप जोराको विकेट गएको हो। ५.४ ओभरमा सन्दीप जोरा रिजन ढकालको बलमा कुशल मल्लको हातमा क्याच भए। उनले १८ बलमा ४ चौकासहित २८ रन बनाए।
५.३ ओभरमा लुम्बिनी लायन्सले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको हो। पावरप्लेमा लुम्बिनी लायन्सले २ विकेट गुमाउँदै ५१ रन बनाएको थियो।
१०.४ ओभरमा दिलिप नाथ १० रनमा क्याच भए। १६.३ ओभरमा गुल्बदिनको क्याच मिस भयो। उनी २९ रनमा खेलिरहेका थिए। उनको क्याच सोहिल तान्भिरले हातमै आएको बल छुटाएका हुन्।
१३.२ ओभरमा रोहित पौडेलको स्टम्पिङ आउटको डिसिजन पेन्डिङ ४ मिनेटभन्दा लामो तानियो। उनी त्यतीबेला २८ रनमा खेलिरहेका थिए।
१७.३ मा लुम्बिनी लायन्सको चौथो विकेट गयो। चौथो विकेटको रूपमा कप्तान रोहित पौडेलको विकेट गयो। उनले ४४ बलमा १ चौकासहित ३९ रन बनाए। चौथो विकेटको लागि उनले गुल्बदिन नैबसँग ६० रनको साझेदारी गरे। जे जे स्मिथ ४ रनमा अविजित रहे। चितवनको लागि २ विकेट रिजन ढकालले लिए।
त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि रबि बोपाराले सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ४ चौका र ३ छक्का पहार गरे।
पहिलो ओभरको दोस्रो बलमा चितवन राइनोजले ओपनर डेविड मलानलाई डकआउटको रूपमा गुमायो। दोस्रो विकेटको रूपमा अर्का ओपनर दीपक बोहोरा स्टम्पिङको रूपमा पेभेलियन फर्किए। उनले १२ बलमा १ चौकासहति १० रन बनाए। देव खनालले १४ रन बनाउँदै क्याच भए।
कुशल मल्ल १२ रनमा कट एण्ड बोल्ड हुने सम्भावना थियो । तर शेर मल्लले उक्त क्याच लिन सकेनन्। चौथो विकेटको रूपमा कुशलको विकेट गयो। उनले १८ बलमा १ छक्कासहित २१ रनमा क्याच भए। कुशलले चौथो विकेटका लागि रबि बोपारासँग ४४ रनको साझेदारी गरे।
पाँचौं विकेट सैफ जैब १५ रनमा कप्तान रोहित पौडेलको हातमा क्याच भए। अर्जुन साउद ८ रनमा अविजित हुँदा अन्तिम बलमा सोहिल तान्भिर ५ रनमा क्याच भए। लुम्बिनी लायन्सका लागि रुबिन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिए। अभिषेश गौतम र गुल्बदिन नैबले समान २–२ विकेट लिए।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल रहेको छ।