। गत २१ कात्तिकमा सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले छपाइ कार्यको उद्घाटन गरेका थिए । धेरैले अब चाँडै नै लाइसेन्स पाउनेमा आशा राखेका थिए । तर २१ कात्तिकमा नमुनाको रूपमा छापेर सुरुवात भएको लाइसेन्स छपाइको थप काम भने हुन सकेको छैन ।
दैनिक ५ सय लाइसेन्स छाप्ने भनेर भनिए पनि उक्त दिनपछि लाइसेन्स छपाइ भएको छैन ।
पहिलो चरणमा अत्यावश्यक सहित १२ लाख लाइसेन्स छापाइ गर्ने सहमति भए पनि उद्घाटनका क्रममा छापिएको ५ सय बाहेक हालसम्म कुनै पनि लाइसेन्सको छपाइ नभएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले भोलि शुक्रबारदेखि लाइसेन्स छाप्ने काम सुरु हुने जानकारी दिए ।
यातायात विभागबाट डाटा लिन समस्या भएको कारण केही दिन ढिला भएको र बुधबार मात्र यातायात विभागले थप डाटा पठाएको ढुंगानाको भनाइ छ।
यातायात विभागको सिस्टम नै डाउन भएको छ । ‘सिस्टम डाउन भएको कारणले डाटा लिनलाई केही समस्या देखियो बुधबारबाट समस्या समाधान भएर डाटा प्राप्त भएको छ शुक्रबारबाट पुनः छपाइ सुरु हुन्छ,’ ढुंगानाले भने, ‘पहिलो चरणमा केही समस्या देखिएको अब दोस्रो चरणदेखि नियमित छपाइ सुरु हुन्छ सिस्टम भइसकेपछि छपाइ गर्न सजिलो हुन्छ ।’
मुद्रण केन्द्रले क्वालिटी परीक्षणको लागि पाँच सय लाइसेन्स छापेर केही नमुना काठमाडौं विश्वविद्यालयको प्रयोगशालामा पठाएको छ । तर विश्वविद्यालय स्रोतकाले लाइसेन्स परीक्षणको लागि प्रयोगशालामा भने अधिकारिक रूपमा केही जानकारी नआएको बताएको छ ।
विश्वविद्यालयमा गत २४ कात्तिकमा इमेल मार्फत एउटा पत्र गएपनि आधिकारिक रूपमा लाइसेन्स टेस्टका लागि हार्डकपी पत्र नआएको कारण टेस्टिङको काम सुरु भएको छैन ।
‘आधिकारिक रूपमा पत्र प्राप्त भएको छैन, हामीसँग जनशक्ति छ, मेसिन छ, ल्याब छ तर के-के गर्ने भनेर पत्र प्राप्त भएको छैन, आधिकारिक पत्र आएपछि ल्याबको काम सुरु हुनेछ,’ उनले भने ।
प्रयोगशालामा लाइसेन्स कार्ड तन्किने नतन्किने, भाँच्चिने नभाच्चिने, मेटिने नमेटिने, तापक्रम थेग्ने नथेग्ने, कति वर्षसम्म टिक्छ भन्ने लगायतका टेस्ट हुनेछ ।
लाइसेन्स छाप्ने विषयमा अघिल्लो सरकारको पालामै २०८२ वैशाख ३ गते काठमाडौं विश्वविद्यालयलाई लाइसेन्स छपाइको विषयमा सहजीकरण गर्नको लागि पत्र पठाइएको बाहेक गत २४ कार्तिकमा इमेल मार्फत लाइसेन्स कार्डको क्वालिटी परीक्षणको लागि भनेर पत्र गए पनि त्यसलाई काठमाडौं विश्वविद्यालयलाई आधिकारिकता मानेको छैन।
केन्द्रका अनुसार पहिले भन्दा लाइसेन्सको बनावट फरक हुने भएको छ । पहिलेको लाइसेन्समा चिप्स (सिमकार्ड) हुने थियो भने अव छापिने लाइसेन्समा क्यूआर कोड हुनेछ । केन्द्रको कार्डको ग्यारेन्टी १० वर्षको राखेको छ । त्यसमा नवीकरण गर्ने समय ५ वर्षको थपेर १५ वर्षका लागि प्रस्ताव भए पनि अहिले १० वर्षको मात्र छ ।