। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् ।
बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी पछि दिइनेछ!’
स्मरण रहोस्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयरको चुनावअघि जोहरान मम्दानीलाई भोट नदिन अपिल गरेका थिए। उनले यदि न्युयोर्कले मम्दानीलाई चुन्यो भने उनले सहरको फन्डिङ (वित्तीय सहयोग) कटौती गर्ने चेतावनी दिएका थिए ।
उता मेयर चुनावमा जित हासिल गरेपछि, मम्दानीले आफ्नो भाषणमा क्यामेरातर्फ हेर्दै राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए।
उनले भनेका थिए, ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ, मसँग तपाईंका लागि चार शब्द छन्- टर्न द भोल्युम अप (आवाज बढाउनुहोस्)।’
मम्दानीको जितको भोलिपल्ट ट्रम्पले मानिसहरू ‘न्युयोर्क छोडेर भाग्नेछन्’ भन्ने प्रतिक्रिया दिएका थिए।