: गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
मानवजीवन र सम्पत्तिको सुरक्षा सबैको उत्तरदायित्व भएकाले कार्ययोजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजी क्षेत्र लगायत सवैबीच समन्वय हुनुपर्ने उनले बताए।
उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमै पूर्वसूचनाको पहुँच पुर्याउँदै प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्ययोजना बनाएको छ।
शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनिकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राधिकरणको कार्ययोजना रहेको छ।