: कोशी प्रदेशका सुनसरी, मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ।
मंगलबार राति झापाको हल्दिबारी गाउँपालिका–३ का धनबहादुर बन र हल्दिबारी–२ का राम मर्डी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयक प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए।
यस्तै, बिर्तामोड बसपार्कमा चेकजाँचमै खटिएको प्रहरीले बिर्तामोड–५ का आदेश दर्जीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
कमल गाउँपालिका–३ का दिलिपकुमार भुजेल पनि ८ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय झापाको टोलीले नियन्त्रणमा लिएको पोखरेलले बताए।
सुनसरीमा प्रहरी कार्यालयले इटहरी –२० का गोबिन्द तामाङलाई ८ ग्राम ८९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी मोरङमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले गरेको कारबाहीमा थप ४ जना पक्राउ परेका छन्। विराटनगर–१३ स्थित सडक किनारमा संकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्दा विराटनगर–८ का २८ वर्षीय अजयकुमार मुखिया र विराटनगर–१६ का अजयकुमार राउतको साथबाट १४० ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद भएको एसएसपी पोखरेलले बताए।
यसैगरी वड प्रहरी कार्यालय विराटनगरले विराटनगर–११ बसपार्क क्षेत्रमा चेकजाँच गर्दा भारत अररिया जिल्ला घर भई विराटनगरमै बस्दै आएका २८ वर्षीय मो. मोजाहित र २० वर्षीय राजकुमार दासको साथबाट १५२ ग्राम ब्राउन सुगर फेला पारी दुबैलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै ९ जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।