— एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन–जी विद्रोहअघि सामाजिक संजालमा चलाइएको 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै यो बालबालिकाविरुद्धको अपराध भएको बताएका छन् ।
मंगलबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित विघटित संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।
यसअघि पनि ओलीले 'नेपो बेबी' ट्रेन्डको विरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । २ कार्तिकमा उनले कोटेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै आफूले 'नेपो बेबी'लाई स्वीकार नगर्ने बताउँदै भनेका थिए, 'म नेपो बेबीलाई स्वीकार गर्दिनँ । यो अहंकार होइन । केको नेपो बेबी ? नेपो बेबीको कुरा गर्दा बच्चालाई त्रास छ ।'
उनले नेपो बेबी बालबालिकाविरुद्धको अपराध भएको बताउँदै बाबुआमाले गल्ती गरे पनि तिनका छोराछोरीलाई त्यसको सजाय दिन नहुने बताए । जेन-जी भन्ने कुरा पनि भ्रान्त धारणा भएको टिप्पणी गर्दै जेनी-जी वा जेनेरेसन जेड कम्प्युटरको विकासक्रमको एउटा अवधिको कुरा गरिएको बताउँदै यो मान्छेसँग कुनै तालुक राख्ने कुरा नभएको दाबी पनि ओलीले गरे ।
ओलीले यसअघि जस्तै सुशीला कार्की नेतृत्वको सरकार आगजनी तोडफोड र लुटपाटबाट बनेको टिप्पणी पनि गरेका छन् । उनले यो सरकार क्रान्ति र विद्रोह केहीबाट नबनेको बताउँदै सरकार असंवैधानिक भएको दाबी यसअघि जस्तै दोहोर्याए । उनले भने, ' यो सरकारको न टेक्ने जमिन छ, न समाउने हाँगो छ ।'
उनले यो सरकार कसले टिकाएको हो र कसले चलाएको हो भन्ने प्रश्न गर्दै सरकार कसले चलाएको भन्नेबारे अनेकन कुरा चलिरहेको बताए । उनले मन्तव्यका क्रममा पुरानै कुरा दोहोर्याउँदै सरकारको कानुनी हैसियतबारे प्रश्न गरे अनि आफूहरू स्वतन्त्र नेपाली भएकाले यसबारे आफूहरूले प्रश्न गरिराख्ने बताए । उनले जेन-जी विद्रोहपछि बनेको सरकार देशलाई अन्धकारतिर धकेल्ने प्रारम्भ विन्दु भएको बताउँदै देशविरुद्धको काममा आफूहरू चुप लागेर नबस्ने पनि बताए ।