: नवजात शिशु हत्याको आरोपमा प्यूठान प्रहरीले आमालाई पक्राउ गरेको छ। गौमुखी गाउँपालिका-६ लिवाङ बुक्तिचौर बस्ने २१ वर्षीया बिपना सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
बिपनाले नवजात शिशुलाई जन्म दिई तत्काल हत्यापछि गहुँबारीमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक हरी भट्टराईले बताए। परपुरुषसँगका सम्बन्धबाट शिशुको जन्म भएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
बिपनालाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
मंसिर १ गते विहान इलाका प्रहरी कार्यालय पुजालिवासेमा गहुँबारीमा लाश फेला परेको सूचना प्राप्त हुँदा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक नेतृत्वमा प्रहरी घटना स्थल पुगेको थियो।