: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन कालिका नगरपालिका-८ घर भएका २५ वर्षीया सुजु प्रजा र काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने ४२ वर्षीया रोजी गुरुङ रहेका छन्।
पक्राउ मध्ये सुजुले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६४ हजार रुपैयाँ र रोजीले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सुजुलाई काठमाडौं महानगरपालिका-२८ बाट र रोजीलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।