मुख्य समाचार
बेलायतमा शरणार्थी भएर पीआर लिन २० वर्ष लाग्ने, नयाँ नीतिको मारमा नेपाली पनि
बेलायतमा शरणार्थी भएर पीआर लिन २० वर्ष लाग्ने, नयाँ नीतिको मारमा नेपाली पनि

। बेलायत सरकारले शरणार्थीसम्बन्धी नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । यो नयाँ नीति कार्यान्वयनमा आउँदा शरणार्थी भएर बेलायतको पीआर लिन २० वर्ष लाग्नेछ । बेलायतको नयाँ नीतिले नेपालीहरु पनि प्रभावित हुने जानकारहरु बताउँछन् ।

बेलायतमा शरण दाबी गर्ने आप्रवासीहरुको संख्या अत्याधिक बढिरहँदा सरकार नयाँ नीति ल्याउने अवस्थामा पुगेको हो । बेलायतको ‘पपुलिष्ट’ पार्टी रिफर्म यूकेका कारण लेबर सरकारलाई नीति कडाइ गर्न दबाब परिरहेको थियो ।

गृहमन्त्री शबाना महमुदले सोमबार संसद (हाउस अफ कमन्स)मा बेलायतको शरण र फिर्ती प्रणालीमा महत्वपूर्ण सुधार गर्ने योजना प्रस्तुत गरिन् । उनले आधुनिक समयमा अवैध आप्रवासन नियन्त्रण गर्न सबैभन्दा ठूलो परिवर्तनको घोषणा गरेको बताएकी छन् ।

बेलायतमा कति छन् शरणार्थी ?

गृहमन्त्री महमुदका भनाइमा शरणार्थीका कारण देशमाथि भारी बोझ परेको छ । गैरकानूनी बसाइँसराइले ‘देशलाई टुक्राटुक्रा पारिरहेको’ गृहमन्त्री महमुदको भनाइ छ ।

विगत चार वर्षमा ४ लाखले बेलायतमा शरण खोजेका छन् भने गत मार्च अन्त्यसम्म एक वर्षमा आवेदन दिएका एक लाख ९ हजार बढी आप्रवासी शरणार्थी आवासमा बस्छन् । आधाभन्दा बढी शरणार्थीहरुले यहाँ आइपुगेको आठ वर्षपछि पनि फाइदा लिइरहेका छन् ।

सन् २०२५ मा हालसम्म झण्डै ४० हजार आप्रवासी साना डुंगा चढेर इंग्लिस च्यानल पार गरी बेलायत छिरेको तथ्यांक छ ।

शरणार्थी मुद्दा टाउको दुखाइ भइरहेका बेला बेलायत सरकारले डेनमार्कको मध्य–वामपन्थी सरकारले ल्याएजस्तै कडा नीति घोषणा गरेको छ, जसले शरणार्थी स्टाटस अस्थायी गर्ने, पुनरावेदन प्रक्रिया संकुचित बनाउने र फिर्ती रोक्ने देशलाई भिजा प्रतिबन्ध गर्नेसम्म छ । डेनमार्कमा शरणार्थीहरूले दुई वर्षको अनुमतिपत्र पाउँछन् र म्याद सकिएपछि पुन: आवेदन दिनुपर्छ ।

के छ नयाँ नीतिमा ?

गृहमन्त्रीले संसदमा घोषणा गरेको योजनामा शरणार्थीको हैसियत (स्टाटस) अस्थायी हुनेछ र प्रत्येक ३० महिनामा नियमित समीक्षा गरिनेछ । शरण माग्ने आप्रवासीको देश सुरक्षित ठानिएपछि उनीहरूलाई स्वदेश फर्काइनेछ ।

बेलायतमा असाइलम भिजा पाएका मानिसले स्थायी आवासीय अधिकार (पीआर) पाउन २० वर्ष पर्खनुपर्नेछ । अहिले यो अवधि ५ वर्षमात्र छ । असाइलम भिजा अस्वीकृत भएकाहरु र गैरकानूनी रुपमा बेलायत छिरेकालाई छिट्टै देश निकाला गरिनेछ ।

सरकारले मानव अधिकार कानुनमा परिमार्जन गरिने पनि जनाएको छ जसको अर्थ आप्रवासन मुद्दाहरूमा मानव अधिकार सम्बन्धी युरोपेली महासन्धिको धारा ८ अन्तर्गत पारिवारिक जीवनको अधिकार संकुचित गरिनेछ ।

शरणार्थीहरुका लागि ग्यारेन्टी गरिएको नि:शुल्क आवास सुविधा र आर्थिक सहायता (साप्ताहिक तलब) रोकिनेछ । जोसँग काम गर्ने अनुमति छ उनीहरुले काम गर्नुपर्नेछ । अपराध गरेका वा हटाउने निर्देशनहरू अवज्ञा गरेकालाई उनीहरुको सुविधा खारेज गरिनेछ ।

सरकारले यसअघि सन् २०२९ सम्म शरणार्थीहरूलाई राख्न होटल प्रयोग अन्त्य गर्ने बाचा गरेको थियो । एक तथ्यांक अनुसार गत वर्ष शरण माग्ने आप्रवासीलाई होटलमा राख्दा सरकारलाई प्रतिदिन ५.७७ मिलियन पाउण्ड व्यय भार परेको थियो ।

शरणार्थीहरुको उमेर प्रमाणित गर्न एआई सञ्चालित प्रविधिको परीक्षणसहित नयाँ प्रविधिहरु प्रयोग गरिनेछ । विशेष गरी बालबालिका भएको दाबी गर्नेहरूको उमेर प्रमाणित गर्न एआई–सञ्चालित प्रविधिको परीक्षणहरू व्यापक रूपमा प्रयोग गरिने सरकारी योजना छ ।

यसका साथै, सरकारले संसदको अन्त्यसम्ममा डिजिटल आईडी पेश गर्ने योजना बनाएको छ । यसले रोजगारदातालाई काम गर्ने अधिकार जाँच्न बाध्य पार्नेछ र गैरकानूनी कामदारहरूलाई नक्कली कागजात प्रयोग गर्न असहज बनाउने सरकारको तर्क छ ।

शरणार्थी रुटमा भिजा सीमित गरिने छ र बेलायतमा नयाँ सुरक्षित र कानूनी मार्गहरू स्थापित गरिनेछ ।

सरकारले अंगोला, नामिबिया र प्रजातान्त्रिक गणतन्त्र कंगोलाई अवैध आप्रवासी र अपराधीहरूको फिर्ती स्वीकार नगरेसम्म भिजा प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ ।

नेपाली पनि प्रभावित हुने

सरकारको प्रस्तावित नयाँ नीतिका कारण नेपालीसमेत प्रभावित हुने भएका छन् । आफ्नो देश सुरक्षित नभएर बेलायतमै शरण पाउँ भन्ने नेपालीदेखि घरेलु हिंसा र राजावादी भएका कारण फर्कन नसक्ने भनेर केस गर्ने नेपाली रहेको कानूनविदहरु बताउँछन् ।

रोजगारदाता कम्पनीको लाइसेन्स खारेज भएर वर्क परमिट भिजा रद्द भएका र अध्ययनका क्रममा आएर बीचमै पढाइ छाडेका विद्यार्थी आदिसम्मले शरण माग्ने गरेका छन् । तर, यस्ता आवेदक कति छन् एकीन तथ्यांक नेपाली दूतावाससँग समेत छैन ।

लन्डनका अध्यागमन सोलिसिटर राजु थापा नेपालको परिप्रेक्ष्यमा असाइलम केस सफल हुने सम्भावना भने निकै न्यून रहेको बताउँछन् । ‘अहिले त सफल हुने चान्स कम छ, अब नयाँ नीतिले झन् धेरै असहज हुने देखिन्छ’, थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...