— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री इप्स्टेनसँग जोडिएका फाइलहरु खोल्नका लागि मतदान गर्न रिपब्लिकन पार्टीका तल्लो सदन (हाउस) सांसद्हरुलाई आव्हान गरेका छन् । आफ्नो पूर्व अडानबाट निर्णयबाट पछि हट्दै ट्रम्पले यस्तो आव्हान गरेका हुन् ।
‘हाउसका रिपब्लिकनहरुले इप्स्टेन फाइलहरु सार्वजनिक गर्नका लागि भोट गर्नुपर्छ । किनकी, हामीसँग लुकाउनुपर्ने केही छैन,’ आइतबार राति उनले आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ट्रुथमा लेखे ।
यसअघि नै रिपब्लिकन पार्टीका दर्जनौ सांसद्हरुले दस्तावेज सार्वजनिक गर्नका लागि मत गर्ने संकेत गरिसकेका थिए । यसै साता हाउसमा त्यस्तो विषयमा मतदान हुँदैछ , जसले न्याय विभागलाई सार्वजनिक रुपमा ती फाइलहरु खोल्न बाध्य गराउने छ । हाउसमा यस फाइल खोल्नका लागि पर्याप्त मत छ । र, सिनेटबाट पास हुने/ नहुने स्पष्ट भइसकेको छैन ।
व्यवसायी जेफ्री इप्स्टेनको सन् २०१९ मा जेलमै शंकास्पद मृत्यु भएको थियो । उनले क्यारेबिया समुद्र आसपास आलिसान रिसोर्टहरु सञ्चालन गर्ने र त्यहाँ किशोरीहरुलाई लगेर धनाढ्यहरुको सेवा गर्न लगाउने गरेको आरोप छ ।
यसक्रममा यौन दुव्यर्हार भएको गुनासो किशोरीहरुले गरेका छन् । बेलायतका अधिराजकुमार एन्ड्रयुले इप्स्टेनसँगको आफ्नो सम्बन्धलाई लिएर विवाद भएपछि दरबार छाड्ने निर्णय गरिसकेका छन् । यस्ता धेरै हाइप्रोफाइल व्यक्ति, राजनीतिज्ञ तथा व्यवसायी यस प्रकरणमा जोडिएका छन् ।
विगतमा इप्स्टेनसँग ट्रम्पको पनि सम्बन्ध रहेको आरोप लाग्दै आएको छ । इप्स्टेनका लिक फाइलहरुमा ट्रम्पको नाम पनि उल्लेख छ । यसलाई ट्रम्पले खारेज गर्दै आएका छन् । उनले राजनीतिक स्वार्थका लागि डेमोक्रेटिक पार्टीले आफुविरुद्ध गलत हल्ला फैलाएको दाबी गरिरहेका छन् ।