— मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदमुक्त गरेका ५ प्रदेश सभा सदस्यहरूको पक्षमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो ।
उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा)ले सभामुख मण्डलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सभामुख मण्डलको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चमा सोमबार सुनुवाइ भएको थियो । जसमा अल्पकालीन अन्तरिम आदेशसँगै कारण देखाऊ आदेश र अन्तरिम आदेशको छलफलमा बोलाइएको छ ।
गत बिहीबार सभामुख मण्डलमाथि पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गरिएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले बाहेकका दलहरूले सभामुखबाट मण्डललाई हटाउने प्रस्ताव राखेका थिए । जसको बदलामा सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गरेका थिए ।
संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै सभामुखले पाँच जनालाई प्रदेसभा सदस्यबाट पदमुक्त गरेका थिए ।