— साउदी अरेबियामा सोमबार मध्यराति सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ ।
मक्काबाट मदिना जाँदै गर्दा मुस्लिम तीर्थयात्री चढेको बस एक डिजेल ट्यांकरसँग ठोक्किँदा ४२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृतकहरुमा २० जना महिला र ११ बालबालिकासमेत रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा बस चालक मात्र जिवीत बचेका छन् ।
मृतकहरुमा अधिकांश हैदराबादका रहेको बताइएको छ । दुर्घटना मदीनाबाट १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति करिब साढे १ बजे भएको हो । उक्त समय सबै यात्री सुतिरहेको र दुर्घटना हुँदा कसैको पनि ज्यान नजोगिएको बताइएको छ ।
तेलंगाना सरकारले रियादमा भारतीय दूतावासको सम्पर्कमा रहेको बताएको छ । राज्य सरकारले एक सूचना जारी गर्दै मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग सम्पर्कमा रहेर पीडितहरुको पहिचानका लागि सहयोग गर्न निर्देशन दिएको बताइएको छ ।
जेद्दास्थित भारतीय दूतावासले हेल्पलाइनसमेत जारी गरेको छ । दूतावासले भनेको छ, ‘साउदी अरेबियाको मदीनानजिक भारतीय उमरा तीर्थयात्री सवार बस दुर्घटनालाई मध्येनजर गर्दै जेद्दास्थित भारतीय महावाणिज्य दूतावासले २४ घन्टे कन्ट्रोल रुम बनाएको छ र हेल्पलाइन नम्बर 8002440003 हो।’
यता तेलंगाना सरकारले पनि परिवारका बारेमा जानकारी लिन सचिवालयमा कन्ट्रोल रुम बनाएको छ । पीडित परिवारका सदस्यले 79979-59754 र 99129-19545 मा सम्पर्क गर्न सक्ने बताइएको छ ।