: मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आज बिहान खस्दा मोटसाइकल चालक हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौंडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो।
मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।