: सिंगापुरमा उपचार गरेर स्वदेश फर्केका कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीमा उत्पन्न विवादको हल खोजिरहेका छन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिए पनि पार्टीमा महाधिवेशनको तिथि मितिबारे विवाद उत्पन्न भएपछि देउवा आफैं सहमतिको विन्दुको खोजीमा छन्।
चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने विवादले कांग्रेस केन्द्रीय समिति बैठक एक महिनादेखि अनिर्णीत छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुसमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिसकेकाले फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनसम्म कुर्न नहुने उनीहरूको तर्क छ। तर, संस्थापन पक्षका नेताहरू चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन्।
यही अडानका कारण देउवा सिंगापुरमा रहेका बेला केन्द्रीय समितिमा कुनै निष्कर्ष निस्कन सकेन। त्यसैकारण कात्तिक २८ गते स्वदेश फर्केदेखि देउवा सहमतिको विन्दु खोज्न निरन्तर नेताहरूसँग छलफल गरिरहेका छन्। उनले जुनसुकै निर्णय पनि सहमतिमै हुनुपर्ने धारणा राखिरहेका छन्। निवर्तमान प्रतिनिधिसभा सांसदहरूले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा हस्ताक्षर चलाए पनि सभापति देउवा पार्टीका सबै पक्षका धारणालाई समेटेर निकास दिन ‘वान टु वान’ छलफलमा जुटेका छन्।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकेको छ। त्यसअघि माघ ११ गते राष्ट्रियसभा चुनाव छ। यी दुई चुनावलाई मध्यनजर गर्दै त्यसको तयारी थाल्न पनि अहिले महाधिवेशन गर्न नसकिने पक्षमा सभापति देउवा पक्षीय केही पदाधिकारी र केही पूर्वपदाधिकारी छन्।
सभापति देउवाले पछिल्ला दिनमा हरेक शीर्ष नेतालाई बोलाएर बेग्ला–बेग्लै भेट्न थालेका छन्। आएकै भोलिपल्ट शनिबार साँझ आफूनिकट केही पदाधिकारी र केही केन्द्रीय सदस्यलाई भेटेका थिए। नेताहरू प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवालाई भेटिसकेका छन्।
नेपाल आए लगत्तै कार्यवाहक सभापति
खड्कासँग पार्टीको अवस्थाका विषयमा विस्तृत समीक्षा लिएर अब के गर्ने ? भन्नेमा देउवा जुटिसकेको उनी निकट नेता बताउँछन्। नेताहरूसँग भेटका क्रममा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान सबै जना सहमतिमा आउनुपर्ने बताएका छन्।
महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर विधानसम्मत माग गरिएको विशेष महाधिवेशनलाई बेवास्ता गर्न नमिल्ने बताएका थिए। महाधिवेशन प्रतिनिधिले विधानको आधारमा हस्ताक्षर संकलन गरेर लिखित माग गरेको विषय विपरीत हुने गरी पार्टीले निर्णय गरे महामन्त्री पदबाट राजीनामा गर्नेसमेत महामन्त्री शर्माले सभापति देउवालाई बताएको कांग्रेसकै नेताहरू बताउँछन्। ‘आवेगमा निर्णय गर्ने र त्यो निर्णय विधानअनुसार नहुने हो भने त्यसको साक्षी बनेर बस्दिनँ भनेको भनेर महामन्त्रीज्यूले भनिसक्नुभएको छ,’ शर्मा निकट एक नेताले भने।
सभापति देउवासँग झन्डै डेढ घण्टा कुराकानी गरेका शर्माले विधानसम्मत मागलाई बेवास्ता गर्न नहुने विचार सभापति देउवासँग राखेका थिए। ‘संसद् विघटन संविधानभन्दा बाहिरबाट गरिएको भनेर संविधानसम्मत नभएको कुरा कांग्रेसले भनिसकेको छ।
विशेष महाधिवेशन पार्टीको विधानसम्मत माग हो। त्यसलाई सम्बोधन गरिएन भने हामी विधानसम्मत चलेको हुँदैन,’ शर्माको भनाई उदघृत गर्र्र्द ती नेताले भने।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवा र अन्य नेताहरूसँग भेट भइरहेको र एकताबद्ध भएर चुनावमा जानुपर्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए। महाधिवेशन तिथि मितिलगायत विषयमा भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै नेताहरूसँग छलफल गरेर सहमति खोज्ने प्रयास गरिरहेका छन्।
सभापति देउवाले कार्यवाहक सभापतिलाई सबैले सहयोग गर्न र सर्वसम्मत रूपमा केन्द्रीय समितिबाट निर्णय लिन पनि आग्रह गरेका छन्। सभापति देउवाले असोज २८ गते केन्द्रीय समितिमा उपस्थित भएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
सिंगापुरबाट फर्केपछि सभापति देउवा र उपसभापति खड्काबीच पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइसकेको छ।
कांग्रेस विधानको धारा १७ (२) मा विशेष महाधिवेशनको व्यवस्था छ। केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यकता देखेर निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। विधानको यही धाराअन्तर्गत रहेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापतिलाई बुझाएका छन्।
विशेष महाधिवेशनका लागि लिखित माग गरेको ३ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ। असोज २९ गते विशेष महाधिवेशनका लागि लिखित माग पेस गरिएको हुँदा ३ महिने अवधि पुस २८ मा सकिने छ।
महामन्त्री शर्मा र थापा नियमित भए निर्वाचन अघि, नभए विशेष महाधिवेशनका पक्षमा छन्। संस्थापन पक्षका शीर्ष तहका नेताहरू चुनावअघि महाधिवेशनका पक्षमा छैनन्। उनीहरू चुनावपछि मात्र महाधिवेशन हुनुपर्छ भन्ने तर्क गरिरहेका छन्। संस्थापन पक्षका नेताको भेला शनिबार बसेको थियो। भेलाले चुनावअघि पार्टीको महाधिवेशन गर्न सम्भव नहुने निष्कर्ष निकालेको सहमहामन्त्री महेन्द्र यादवले बताए। ‘चुनावको मितिनजिक आइसक्यो। अब उम्मेदवार छनोटतिर एकताबद्ध भएर लाग्ने बेलामा महाधिवेशन गर्न सम्भव हुँदैन भन्ने हाम्रो साझा बुझाइ हो। त्यही विषयमा छलफल
भएको हो।’
उनले अगाडि भने, ‘महामन्त्रीद्वयलाई पनि चुनावपछि नै महाधिवेशन गर्ने गरी मनाउने प्रयास भइरहेको छ। उहाँहरूले चुनावमा जान नयाँ अनुहार चाहियो भन्नुहुन्छ। शेरबहादुर दाइले पूर्णबहादुर दाइलाई कार्यवाहक दिइसक्नुभएको छ। उहाँ नयाँ अनुहार भइहाल्नुभयो नि !’
यादवले भने, ‘शेरबहादुर दाइ पनि आइसक्नुभएको छ। अब सबै सँग सल्लाह गरेर पूर्णबहादुर दाइले चाँडै सहमति जुटाउनुहुन्छ।’ कार्यवाहक खड्काले महाधिवेशनबारे बेलामा निर्णय लिन केही ढिला भएको स्वीकारेका छन। यद्यपि, हतारमा निर्णय गरेर पछि पछुताउनको काम नगर्ने गरी उपयुक्त लिने निर्णय लिइने भनेका छन्, ‘मेरो बारेमा सार्वजनिक रूपमा यहाँहरूले गर्नुभएको जस्तोसुकै टिप्पणीहरूलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन्। हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, हाम्रा विगतका गल्ती–कमजोरी स्विकारी नेपाली जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ।’
खड्काले सबैले एकताबद्ध भएर यो मत्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन अनुरोध गरेका छन्। खड्का निकट एक नेताले भने सोमबार कार्यवाहक सभापतिले एउटा मिति प्रस्ताव गर्ने तयारी गरेका छन्। ती नेताले भने, ‘कार्यवाहकजीले सोमबारको बैठकमा चुनावपछिको महाधिवेशनको मिति सबै पक्षको भावनालाई समेट्ने गरी पेस गर्ने तयारीमा हुनुहुन्छ। त्यसपछि अर्कोचरणको छलफल सुरु हुन्छ।’