। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज)सम्म विदेश घुमफिरमा जाने नेपालीले साढे २१ अर्ब रुपैयाँ हाराहारी खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण व्यय पहिलो त्रैमासको समीक्षा अवधिमा १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । जसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रहेको छ । यसअनुसार खुद भ्रमणमा भएको खर्च २१ अर्ब ६३ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यही अवधिमा विदेशीले नेपाल भ्रमणमा गरेको खर्च भने १९ अर्ब १९ करोड मात्र छ । यस अनुसार विदेशी पर्यटकले नेपाल भ्रमणका क्रममा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने भ्रमण खर्च धेरै हो । भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भएको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा पर्यटकले नेपालमा गरेको खर्च १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।
पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढ्नु र विदेश जाने विद्यार्थीसँग ठूलो मात्रामा मुद्रा विदेशिने कारण सेवा खाता भने ऋणात्मक रहेको छ । तथ्यांक अनुसार सेवा खाता ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा सेवा खाता २३ अर्ब १ करोड रुपैयाँले मात्र घाटामा थियो ।