। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूले गुनासो गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले हिरासतको अनुगमन गरेको छ ।
आयोगको टोलीले काठमाडौं उपत्यकाका तीन जिल्लाका हिरासत कक्षहरूको अनुगमन गरेको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले हिरासतको अनुगमन गरिहेको र अझै केही हिरासतको अनुगमन गर्न बाँकी नै रहेको बताए ।
उनका अनुसार प्रहरी वृत्त सोह्रखुट्टे, गौशाला, परिसर भक्तपुर, वडा प्रहरी कार्यालय लगनखेल, भक्तपुरका प्रहरी हिरासत अनुगमन गरिएको छ ।
जेनजी घटनामा पक्राउ परेका आफन्तको परिवारले प्रहरीले यातना दिने गरेकोदेखि हिरासतमा रहेका थुनुवाबाट समेत अमानवीय व्यहार हुने गरेको आयोगमा बताएका थिए ।
त्यसपछि आयोगको टोलीले उपत्यकाका हिरासत कक्षको अनुगमन गरेको हो । अनुगमनका क्रममा उनीहरूले आरोप लगाएजस्तो यातना दिएको नपाइएको आयोगका एक सदस्यले बताए ।
‘बस्नका लागि केही हिरासतमा ठाउँहरू अपुग भएको पाइए पनि उनीहरूले आरोप लगाएपछि यातना दिएको पाइएन’ एक सदस्यले भने ।
हिरासत अनुगमन गर्नेममा आयोगको टोलीले प्रहरी अधिकारीहरूसँग समेत सोधपुछ गरेको थियो । सो क्रममा प्रहरी अधिकारीहरूले अधिकांश पक्राउ गर्नुको पछाडि आगजनी, तोडफोड, चोरीमा संलग्न भएको तस्वीर, भिडियोहरू नै मुख्य कारण रहेको बताएका छन् ।
तस्वीर र भिडियोमा प्रष्ट रूपमा देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीले आयोगलाई जवाफ दिएको छ ।