। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरूलाई छलफलमा बोलाउन सुरु गरेका छन् ।
शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।
देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेनजी आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् ।
शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवादबारे छलफल गरेका हुन् ।
भेटमा सहभागी महतले अनलाइनखबरसँग भने, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईंहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’
कांग्रेसमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।
संस्थापनइतरका नेता डा.शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् ।
चुनाव अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अघि महाधिवेशन गर्नुपर्ने बैठकबाट निर्णय गरेका छन् । चुनाव अघि महाधिवेशन गर्नुपर्ने माग सहित २४ नेताले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।
शनिबार साँझ दुई घण्टा बढी कुराकानी गरेका चार नेतासँग सभापति देउवाले पार्टी विवादका बारेमा जानकारी लिएका थिए । सभापति देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने भएका छन् ।