। अशोक राई नेतृत्वको जसपाले नेपाली कम्युनिस्ट पार्टीसँगसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पनि एकताबारे छलफल चलाएको छ ।
ती छलफलका प्रगतिबारे सामूहिक छलफल गर्न जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकबाट आगामी चुनावमा कोसँग मिलेर जाने भन्नेबारे निर्णय गर्ने जसपा अध्यक्ष अशोक राईले बताए ।
‘हामी नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टीसँग छलफलमा छौं,’ राईले अनलाइनखबरसँग भने, ‘आगामी चुनावमा एकता वा मोर्चाबन्दी कसरी जाने भनेर छलफल गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छौं ।’
नेकपा एमालेको उपाध्यक्ष भएका बेला २०६९ सालमा पार्टी परित्याग गरेर राईले संघीय समाजवादी पार्टी गठन गरेका थिए । २०७२ जेठमा उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमसँग एकता गरेर संघीय समाजवादी फोरम नेपाल पार्टी बनाएका थिए ।
मतभेदपछि उनले २०८१ वैशाख २३ गते उपेन्द्र यादवको साथ छोडेर आफ्नै अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) गठन गरेका थिए ।
जेनजी विद्रोहपछि दलहरुबीच एकता र ध्रुवीकरण चलिरहेका बेला प्रचण्ड र माधव नेपालले एकता प्रक्रियामा आउन अशोक राईलाई प्रस्ताव राखेका थिए । तर त्यतिबेला अशोक राई एकता गएनन् ।
शनिबार भने नेपाली कम्युनिस्ट पार्टीसँगको एकता छलफलमा जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । सो छलफलमा सहभागीपछि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपासँग सैद्धान्तिक र वैचारिक विषयमा छलफल भएको र छलफल सकारात्मक दिशामा गएको अनलाइनखबरसँग बताए ।
राजेन्द्र श्रेष्ठसँग भने अनलाइनखबरको सम्पर्क प्रयास सफल भएन । तर, जसपा अध्यक्ष अशोक राईले भने नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलको प्रगतिबारे आफूलाई ब्रिफिङ लिन बाँकी रहेको बताए ।
नेपाली कम्युनिस्ट पार्टीसँगै जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पनि छलफल भइरहेको जानकारी दिँदै उनले ती सबै छलफलको निचोडबारे भोलि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने बताए ।
‘कुन पार्टीसँग कस्तो खालको छलफल भयो, कुन नजिक-टाढा भयो भन्ने विषयमा भोलिको बैठकमा छलफल गरेर आवश्यक निर्णय गर्छौं’, राईले भने ।
जसपा नेपालका प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पनि जसपासँग पार्टी एकताबारे छलफल भएको पुष्टि गरे । उनले कम्युनिस्ट पार्टीसँग भन्दा जसपा नेपालसँग विचार, सिद्धान्त र एजेण्डामा नजिक रहेको बताए ।
‘अशोक राईजीले पहिले कम्युनिस्ट छोडिसकेकाले फेरि कम्युनिस्टतिर जाने अप्रिय निर्णय गर्नुहोला जस्तो मलाई व्यक्तिगत रुपमा लाग्दैन,’ बस्नेत भन्छन्, ‘उहाँहरुको विचार र एजेन्डा मिल्ने हामी जसपा नेपालसँगै हो । त्यसैले हामीसँग एकता गर्दा नै उहाँहरुलाई राम्रो हुन्छ भन्ने लाग्छ ।’