— जेन-जीले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १२ जना कैदी पाँचथरबाट पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा दोषी प्रमाणित भएर कारागार चलान भई भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका बाबुराम आङ्देम्बे शुक्रबार दिउँसो पक्राउ परेसँगै जिल्लामा यो संख्या १२ पुगेको हो । २६ वर्षीय उनलाई मिक्लाजुङ-४ रवि बजारबाट दिउँसो १ बजे पक्राउ गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
यसअघि कारागारमा तोडफोड र आगजनी हुन थालेपछि भागेका ११ जना पक्राउ परिसकेका थिए । पक्राउ परेकाहरुमा जिल्लाको कुम्मायक-१ का ४५ वर्षीय पनेन्द्र तामाङ, फिदिम नगरपालिका-१ का ३६ वर्षीय बिनय नेम्वाङ, तुम्वेवा-५ मौवाका ४० वर्षीय गोपाल बोहरा, फिदिम नगरपालिका-५ का ३० वर्षीय मंगलसिं तुम्बापो, हिलीहाङ गाउँपालिका-७ का २९ वर्षीय चक्र तामाङ छन् ।
यस्तै मिक्लाजुङ गाउँपालिका-५का ५१ वर्षीय सन्तविर लावती, फाल्गुनन्द गाउँपालिका-३ का ५१ वर्षीय देशबहादुर तामाङ, फिदिम-१ का ४० वर्षीय राजेन्द्र परियार दर्जी, हिलीहाङ- ४ का २२ वर्षीय किरण पोख्रेल, फिदिम-१२ का ३५ वर्षीय मिलन थाम्सुहाङ र याङवरक गाउँपालिका-३ का २३ वर्षीय उदेश नुगो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पक्राउ परेकामध्ये एकजना फिदिम-१ का चन्द्र भनिने विनय नेम्वाङ काठमाडौंस्थित नख्खु कारागारबाट भागेका हुन् । अरु ११ जना झुम्का कारागारबाट भागेका हुन् ।
पक्राउ परेका हरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । जिल्लामा अझै पनि फरार कैदीबन्दी रहेको प्रहरीको अनुमान छ ।