मुख्य समाचार
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय गृहसचिवसँग शिष्टाचार भेट
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय गृहसचिवसँग शिष्टाचार भेट

— सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय गृहसचिवसँग शिष्टाचार भेट गरेका छन्।


नवौं सीमा सुरक्षा समन्वय बैठक समापनपछि शुक्रबार महानिरीक्षक अर्यालले भारतीय गृह मन्त्रालयका सचिव गोविन्द मोहनसँग शिष्टाचार भेट गरेका हुन्। नेपालका सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशकस्तरीय नवौं सीमा सुरक्षा समन्वय बैठक बुधबारदेखि दिल्लीमा सुरु भएकोमा सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित साझा दस्ताबेजमा हस्ताक्षर गरेर शुक्रबार सम्पन्न भएको हो। बैठक सकिएलगत्तै महानिरीक्षक अर्याल र भारतीय गृहसचिव मोहनबीच दिल्लीमा शिष्टाचार भेट भएको हो। भेटका क्रममा दुवै देशका सीमा सुरक्षा प्रमुखले सम्पन्न भएको बैठकबारे ब्रिफिङ गरेका थिए।

भेटका क्रममा गृहसचिव मोहनले आपसी हित र दुई देशका साझा चुनौतीलाई सामना गरेर सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा काम गर्ने गरी बैठक सम्पन्न गरेकामा धन्यवाद दिएका थिए। सुरुमा एसएसबी प्रमुख सञ्जय सिंघलले बैठकमा छलफल र साझा दस्ताबेजमा गरिएको संयुक्त हस्ताक्षरबारे ब्रिफिङ गरेका थिए। त्यसपछि यही विषयमा सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र गोविन्द मोहनबीच कुराकानी भएको सहभागी स्रोतले बताए।

बैठकबाट निर्क्यौल गरिएका विषय कार्यान्वयनमा लैजाने पनि मोहनले प्रतिबद्धता जनाएको स्रोतले बताए।

नेपाल–भारतबीच पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको कञ्चनपुरसम्म करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा सीमा फैलिएकामा नेपालले सशस्त्र प्रहरी बल (एपीएफ) र भारतले सशस्त्र सीमा बल (एसएसबी)को फौजलाई सीमा सुरक्षामा खटाउँदै आएको छ। भारतले एसएसबीका ५ सय बढी बोर्डर आउट पोष्टमार्फत नेपालतर्फको आफ्नो सीमा नाकामा फौज तैनाथ गरेको छ। सशस्त्र प्रहरीले २ सय ५० बीओपीमार्फत आफ्नो जनशक्ति सीमा क्षेत्रमा खटाएको छ।

सीमा सुरक्षा समन्वय बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भारतबाट आउने नेपाली नागरिक नाकामा लुटिने, कुटिने र दुर्व्यवहारमा पर्ने गरेको भन्दै यस विषयलाई गम्भीर रूपमा लिइदिन अनुरोध गरेका थिए। यससँगै सीमामा हुने एकअर्का देशका नागरिकबीच उत्पन्न हुनसक्ने असमझदारी हटाउन, दुर्व्यवहार रोक्न, क्रस–बोर्डर अकुपेसनलाई व्यवस्थित गर्न, लागूऔषध नियन्त्रण, भन्सार छली/तस्करी, तेस्रो देशका नागरिकको घुसपैठ, एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने प्रवृत्ति नियन्त्रण, सीमा स्तम्भ सुरक्षा, मर्मत र हराएका स्तम्भको खोजबिनलगायत विषयमा छलफल र समीक्षा भएको थियो। नेपालले तेस्रो देशका नागरिक भारतको बाटो हुँदै घूसपैठ गरी नेपाल छिर्ने गरेको भन्दै गम्भीर चासो राखेको थियो।

भारतले तेस्रो देशका नागरिक गैरसरकारी संस्था तथा धार्मिक गतिविधिको आवरणमा नेपाल छिरेर आफ्नो देशविरुद्ध गतिविधि गर्ने गरेको भन्दै यसमा कडाइ गरिदिन अनुरोध गरेको बैठक स्रोतले बताए।

नेपालले भारतबाट औषधीको आवरणमा तस्करीबाट भित्रिएका चिकित्साजन्य लागूपदार्थ नियन्त्रण गरिदिन पनि आग्रह गरेको थियो। जवाफमा भारतले त्यस्ता गतिविधि भएमा बरामद औषधिको ‘ब्याच’ र औषधि कम्पनी विवरण उपलब्ध गराउन र त्यसकै आधारमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने बचन दिएको स्रोतले बताए।

यी विषयलाई सम्बोधन गर्न सूचना आदानप्रदान, जोखिम र चुनौती हेरेर २४ सै घण्टा सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गर्नेमा पनि सहमति भएको छ। यसबाहेक बैठक र साइडलाइन छलफलमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले २४ भदौको जेन-जी आन्दोलनका क्रममा जेल फोडेर भागेका कतिपय कैदीबन्दी भारत छिरेको हुनसक्ने भन्दै उनीहरूलाई पक्राउ गर्न भारतको सहयोग खोजेका थिए। भागेका कैदीबन्दी र प्रहरीबाट लुटिएका हतियारबाट चुनौती थपिएको भन्दै नियन्त्रणमा ल्याउन नेपाल पक्षले सहयोग मागेको थियो। जवाफमा एसएसबी प्रमुख सिंघलले यसमा आफू गम्भीर रहेको र नियन्त्रणमा सहयोग गर्ने बचन दिएको बैठकमा सहभागी स्रोतले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताको समय थप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । कार्कीको सचिवालयका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गरेर म्याद थपका लागि आग्रह गरेकी हुन् । आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार कार्यवाहक ...
— नेपाल र भारतका सुरक्षा अधिकारीबीच दुई देशका अन्तर्राष्ट्रिय सीमाबाट हुने आवागमन सुरक्षित र व्यवस्थित गर्न अभिलेख राख्नेदेखि संयुक्त गस्ती गर्ने अभिलेख राख्ने सहमति भएको छ । भारतको दिल्लीमा सम्पन्न नवौं ‘नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक’ले दुवै देशका अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन गर्नेको ‘रियल टाइम रेकर्ड’ संकलन गर्ने सहमति गरेको हो। अभिलेख दुवै देशका फिल्डमा रहेका ...
— मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवविरुद्ध ७ दलीय गठबन्धनले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेको छ । बर्दिबासको एक होटलमा तत्कालीन प्रदेश प्रमुख सुमिन्त्रा भण्डारीले पार्टीगत हिसाबले सरोज यादवलाई मुख्यमन्त्री बनाएको आरोप लगाउँदै मुख्यमन्त्री यादवको तत्काल नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै ७ दलले विरोध प्रदर्शन गरेका हुन् । 'होटल–सरकार' विरुद्ध नारा लगाउँदै उनीहरुले संघीयता बचाउन माग गरेका छन् ...
— सर्वोच्च अदालतले जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजको निवेदनमा मिसिल झिकाउने आदेश गरेको छ। अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै जिल्ला र उच्च अदालतको फाइल मागेको हो। उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए। उनीले ...
: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले शुक्रबार दुवै चुनावका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो। मंसिर १ देखि १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि र मंसिर १ देखि ...