: नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह प्रदानपछि बोल्दै उनले पेसागत अनुशासनभित्र रहेर पारदर्शी रूपमा नागरिकप्रति उत्तरदायी भएर काम गर्ने बताएका हुन्।
कार्कीले देशमा सुशासन कायम गर्ने र भयरहित वातावरणमा निर्वाचन गराउने सरकारको अभिभारा र सुरक्षा चुनौतीको विद्यमानताप्रति आफू पूर्णरुपमा जानकार र सजक रहेको बताए। जेनजी आन्दोलन लगत्तैको सुरक्षा प्रतिकुलतामा पनि कुनै सुरक्षा रिक्तता हुन नदिई तत्काल नागरिकको सेवामा परिचालित भएको जानकारी गराउँदै उनले छोटो समयमा प्रहरीका संरचना र सेवा पुनः स्थापनामा देखिएको सक्रियताले प्रहरीको भूमिका स्पष्ट भएको बताए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। ३० वर्षे सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट वरिष्ठतम कार्कीलाई प्रहरी सङ्गठनको प्रमुख बनाएको हो।